
चितवनः पूर्व गृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद पुनस्र्थापन गर्नुपर्ने बताउनु भएको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले संसद पुनस्र्थापना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले नीजि स्वार्थका लागि संविधानलाई कोमामा राखेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो “संविधानमाथि प्रहार भएको छ, यो आक्रमणले राजनीतिक दुर्घटना निम्त्याउँछ ।” उहाँले अगाडि थप्नुभयो “ समग्र संविधान सिद्धाउने र प्राप्त अधिकारी पछाडी पार्ने काम भएको छ ।”
उहाँले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिनुभयो । संकटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकहरुले सेवा दिने गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले बिरामीको अवस्था हेरेर मंहगो होईन् सहज हुने अस्पतालमा लैजान अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकहरुलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक डा. प्रमोद लामिछाने, बरिष्ठ बालरोग विशेषज्ञ डा. बालकृष्ण कालाखेती लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको सभापतित्वमा भएको थियो । देशभर करिव ४ हजार ५ सय एम्बुलेन्स रहेको तथ्याङ्क छ । सो अबसरमा ९ जना पत्रकारहरुलाई सम्मान गरीएको थियो ।