चितवनः भरतपुर महानगरपालिकामा रहेका सामुदायीक बिद्यालयहरुले बिद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त बिद्यार्थीलाई बस प्रभावकारी हुने भए पछि भरतपुर महानगरपालिकाले पाँच वटा बिद्यालयलाई बस खरिदका लागि रु १ करोड निकाशा गरेको छ ।

भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालु आर्थिक वर्षमा पाँचवटा बिद्यालयलाई बस किन्न एउटा बिद्यालयलाई रु २० लाखका दरले दिनेगरि सम्झौता गरि सकिएको छ । कविलाश माध्यामिक बिद्यालय, नारायणी नमुना माध्यामिक बिद्यालय, भिमनगर माध्यामिक बिद्यालय, प्रभात माध्यामिक बिद्यालय र लक्ष्मि माध्यामिक बिद्यालयलाई बस खरिदका लागि रकम बिनियोजन गरिएको हो ।

ती बिद्यालयले महानगरपालिका संग सम्झौता गरि बस खरिदका लागि बोलपत्र आव्हान गरेका छन् । पौडेलले भन्नुभयो “हामीले रु २० लाखका दरले रकम दिने गरि सम्झौता गरेका छौ । अपुग भए बिद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाख हाराहारीमा बस आउने जनाइएको छ ।

पौडेलका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणी बिद्यालयले बस खरिद गरेर गत वर्षबाट संञ्चालनमा ल्याएको छ । त्यसै गरि आन्तरिक स्रोतबाट जानकी माध्यामिक बिद्यालय, भानु माध्यामिक बिद्यालय र प्रेमबस्ति माध्यामिक बिद्यालयले पनि बस खरिद गरेर संञ्चालन गर्दै आएका छन् । बस संञ्चालनका लागि लाग्ने खर्च बिद्यार्थीबाट उठाइदै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धेरै बिद्यार्थी भएका, टाढाबाट आउनु पर्ने, प्राबिधिक बिषयको पढाइ गर्ने बिद्यालयहरुलाई पहिलो चरणमा बस दिइएको बताउनु भयो । यसको प्रभावकारीता हेरेर आउँदो वर्ष थप बिद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाई छ । दाहालले भन्नुभयो “महानगर भित्रका सामुदायीक बिद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिदैं आएको छ ।”

छात्राहरुलाई साईकल देखि बिपन्न बिद्यार्थीलाई न्यानो कपडा समेत वाँड्दै आएको बताउँदै उहाँले बिद्यार्थीको गुणस्तर बृद्धि गर्नका लागि बिद्यालयका शिक्षक, अभिभावक र बिद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो । बस खरिद गरे संगै बिद्यालय पुग्न बिद्यार्थीलाई सहज हुने उहाँको भनाइ छ ।

भरतपुर महानगर भित्र १ सय २३ वटा सामुदायीक र ९७ वटा संस्थागत बिद्यालय रहेका छन् । सामुदायीकमा ३५ हजार र संस्थागतमा ४० हजार बिद्यार्थी अध्ययनरत रहेका छन् । अधिकांश संस्थागत बिद्यालयले बिद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नेपालकै नमुना बिद्यालयका रुपमा चिनिएको नारायणी नमुना माध्यामिक बिद्यालयका प्राचार्य पूर्ण प्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर बिकासका लागि आबश्यक सहयोग गर्दै आएको भन्दै बस खरिदमा सहयोग पु¥याएकोमा खुशि प्रकट गर्नुभयो ।

कक्षा १२ सम्म र प्राबिधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस बिद्यालयमा २ हजार ५ सय ५८ जना बिद्यार्थी रहेका छन् । ती बिद्यार्थीहरु मध्ये देवघाट, शिवघाट, लामाटोल लगाएतका क्षेत्रबाट अभिभावकले वस र म्याजीक भाडामा लिएर बिद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी बिद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारी साधन भाडामा लिएर आउने गरेका बिद्यार्थीलाई बसले बोक्ने बताउनु हुन्छ । सो बिद्यालयमा बौद्धिक अपाङ्ग २९ जना अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !