
चितवनः जिल्लाका दुई ठूला आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्नुहुने भएको छ । आज भरतपुरको सिटी हल र पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलन्यास गर्नुहुने कार्यक्रम रहेको छ ।
सिटीहल र सडक दुवैको ठेक्का भई निर्माण शुरु भईसकेको छ । सिटी हल शहरी विकास डिभिजन कार्यालय चितवन र सडक डिभिजन सडक कार्यालय भरतपुरले बोलपत्र आव्हान गरी सम्झौता समेत गरिसकेका छन् । दुवै परियोजनाको ठेक्का इण्डो सगुन रौताहा जेभी रुपन्देहीले पाएको छ ।
शिलन्यासपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा नेता पार्वती रावलले जानकारी दिनुभयो ।
ती कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहभागी हुनुहुने उहाँले बताउनुभयो । ती कार्यक्रमहरुको मातहतका कार्यालयले निम्तो गरेका छन् । प्रधानमन्त्री ओलीले शुरुमा सडकको भरतपुर विमानस्थल अगाडि शिलन्यास गर्नुहुनेछ । त्यसपछि सिटी हलको शिलन्यास गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम हुने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको छ । यता नेकपा चितवनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा ठूलो संख्यामा उपस्थिति गराउने भन्दै व्यापक प्रचारप्रसार गरेको छ ।