चितवन: प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीद्वारा माघ १७ गते भरतपुरमा सम्बोधन हुने जनसभामा सहभागी हुन आव्हान गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले आव्हान गरेको हो ।

फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले आज बुधबार एक विज्ञप्ति प्रकाशित गरी उक्त सभामा सक्रिय सहभागी हुन आव्हान गर्नुभएको हो । फाउण्डेशनले आफ्ना सदस्य तथा आम सर्वसाधारणलाई उक्त सभामा सहभागी हुन अनुरोध समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ “सरकारले गर्न खोजेका काममा कसरी अवरोध भईरहेको थियो, सरकार अब कसरी अगाडि अघि बढ्छ भन्ने कुरा पनि जनसभाबाट प्रष्ट हुने नै छ ।”  वर्तमान राजनीतिक घटनाक्रम कसरी विकास भयो ? भन्ने विषयमा प्रधानमन्त्री प्रष्ट पार्ने विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तितमा अगाडि भनिएको छ “सबै वर्ग र क्षेत्रका जनसमुदायलाई उक्त जनसभामा सहभागी भई सफल बनाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा माघ १७ गते आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मध्यान्ह १२ः१५ बजे भरतपुर बसपार्कमा हुने जनसभामा जिल्लाका सबै ठाउँबाट सर्वसाधारणको उपस्थिति हुने जनाईएको छ ।

सोही दिन प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलन्यास गर्नुहुने छ भने पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पुल्चोक–गोन्द्राङ्ग छ लेन सडक विस्तारको शुभारम्भ पनि गर्नु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !