चितवनः पश्चिम चितवनको रामपुरमा निर्माणाधिन रंगशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेसनलाई रु चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम वराबरको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले रु चार करोड र अहिले थप रु चार करोड प्रदान गरिएको बताउनुभयो ।

सो अबसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पु¥याउने बताउनुभयो । रंगशाला निर्माण सहयोगार्थ यस अघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल सँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !