चितवनः जिल्लामा रहेका ३ सय ४८ जना एचआईभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो ।
एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेसन चितवनका प्रमुख कृष्णहरी सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन ।
सङ्क्रमितहरु खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । बीमा गरिएका परिवारमा एक भन्दा बढी समेत सङ्क्रमित रहेको उहाँले बताउनुभयो ।
जिल्लामा अहिले १ हजार ९ सय २६ जना सङ्क्रमित रहेका छन् । जस मध्ये १ सय ४७ जना बालबालिका हुन । ती मध्ये फाउण्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ९ सय ६७ जना रहेका छन् । जसमा ४७ जना बालबालिका, ४ सय ७१ जना महिला, ४ सय ५१ जना पुरुष रहेका छन् ।
सन २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स सङ्क्रमण भेटिएको छ । थपिएका व्यक्तिहरु मध्ये ४ जना बच्चा रहेका छन् । ८ हजार ७ सय ६२ जनाको परीक्षणका क्रममा सो संख्यामा सङ्क्रमित थपिएको फाउण्डेसनका स्रोत व्यक्ति डा.युवानिधि बसौलाले जानकारी दिनुभयो । बसौलाका अनुसार सन २०२० मा सङ्क्रमित मध्ये १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना कोरोना सङ्क्रमण, ४ जना क्यान्सर, ५ जना क्षयरोग र अन्य अत्याधिक मदिरा सेवनका कारण रहेका छन् ।