चितवनः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगर टाउनमा आयोजना गरेको बृहत बिरोध सभामा बोल्दै उहाँले वैशाखमा निर्वाचन नहुने दावी गर्नुभएको हो ।

पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना भए कांग्रेसनै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताउनुभयो । संसद विघटन राष्ट्रद्रोही कदम भएको उहाँको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याउनु पर्ने बताउँदै उहाँले भन्नुभयो “राष्ट्रघाती कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद विघटन हुन पुगेको उहाँको भनाई थियो ।

संसद पुनस्र्थापना हुने दावी गर्दै उहाँले प्रश्न गर्नुभयो “संविधान व्याख्या गर्ने न्यायलय छ कि छैन ? छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी ५ वर्ष प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ ।” संसदमा कुनै अवरोध नआउदा, पार्टीमा भएको झगडाले संसद विघटन गरेर तानाशाह बन्न खोजेको आरोप उहाँले लगानुभयो ।

अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उहाँले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले अदालतलाइ धम्काउन खोजेपछि आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उहाँले भन्नुभयो, “लोकतन्त्रमा चीरहरण हँुदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले उहाँले भन्नुभयो, “जनताको मतलाइ लात हानेर जनताको कुरा गर्न मिल्दैन ।”

प्रतिनिधिसभालाई बचाएपछि बल्ल निर्वाचनमा जानुपर्ने उहाँले बताउनुभयो । कम्युनिष्टहरुले सत्ताको लुछाचुडी गरेर एकताको भ्रम छरेको उहाँको आरोप थियो ।

कार्यक्रममा कांग्रेस नेतृ डीला संग्रौलाले संविधानको चीरहरण भएको बताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्ट अस्थिरतावादी हुन्, कम्युनिष्टहरुको नकावधारी अनुहार उदाङ्गिएको छ” । पुस ५ गते कालोदिनको रुपमा ओलीले चित्रण गरे गरेर संविधानको घाँटी निचोरेर संसद विघटन गरेको उहाँको आरोप थियो । हिटलर तानशाहको रुपमा केपी ओलीले निरंकुशता ल्याउन खोजेको आरोप उहाँले लगाउनुभयो । लोकतन्त्रमा हत्यारा, बलात्कारी लुकाउने काम भएको भन्दै संग्रौलाले न्याय मरेको जस्तो देश बनेको बताउनुभयो ।

अब प्रदेश सरकार विघटन गर्ने धम्की दिईएको बताउँदै उहाँले भन्नुभयो, “संघीयता विरोधी कम्युनिष्ट हुन् ।” संसद विघटन गर्ने अधिकार केपी ओलीलाइ नभएको उहाँको दावी थियो ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भरतपुर महानगरमा रेनु दाहाललाई सहयोग गरेर ठूलो गल्ती गरेको बताउनुभयो । उहाँले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिन्हमा भोट नहाल्ने बताउनुभयो ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापति भरत अधिकारीले संविधान माथि कुठाराघात भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !