चितवन : नेपाली काँग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत काँग्रेसले आज ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । केन्द्रीय निर्णय अनुसार काँग्रेस चितवनले पनि आज जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ (क) ले विरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय नेता रामहरी खतिवडाले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयले जनमतको कदर नभएको बताए । उनले नेकपा भित्रको भागबण्डाको विवादले देशलाई दुर्घटनातर्फ डोहोर्‍याएको बताए । कार्यक्रम क्षेत्र नम्बर १ (क) का सभापति देवेन लामाको सभापतित्वमा सम्पन्न भएको हो ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ (खे) ले रत्ननगरको बकुलहरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले कुनै पनि हालतमा संसद विघटन हुन नदिने बताए । संसद विघटन गरी संविधानमाथि प्रहार गर्न खोजिएकोले जनता सडकमा आउन वाध्य बनाएको उनको भनाइ थियो । उनले सर्वोच्च अदालतले फैसलालाई सिरोपर गरेरै अघी बड्ने बताउदै काँग्रेस सधैं बिधान र कानुनमा विश्वास गर्ने दाबी गरे ।

क्षेत्रिय सभापति सुजन थापाको सभापतित्वमा भएको बिरोध सभामा पूर्व शिक्षामन्त्री शेसनाथ अधिकारी, पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद साबित्री चौधरी, जिल्ला प्रतिनिधिको तर्फबाट जिल्ला प्रबक्ता निता ढकाललेलगायतले बोलेका थिए ।

उता क्षेत्र नम्बर २ (क) मा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टीका जिल्ला सभापति जितनारायण श्रेष्ठले काँग्रेसले निर्वाचन नखोजेको बताए । श्रेष्ठले काँग्रेस ५ वर्ष सम्म प्रतिपक्षमा बसेर कार्य गर्न तयार रहेको पनि बताए ।

उनले संसद विघटन अलोकतान्त्रीक तथा असंवैधानिक भएको भन्दै प्रधानमन्त्री सचिन्नु पर्ने बताए । यस्तै उनले संसद पुनःस्थापन नभए मुलुक ठूलो दुर्घटनामा पर्ने बताउदै तत्काल संसद विघटन खारेज हुनुपर्नेमा जोड दिए । काँग्रेस नेतृ गीता गुरुङले संसद विघटनले जनमतको कदर नभएको बताईन् । उक्त कार्यक्रम क्षेत्र नम्बर २ (क) का सभापति टंक पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

यस्तै क्षेत्र नम्बर २ (ख) को सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले संसद विघटन अलोकन्तान्त्रीक र असंवैधानिक कदम भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने अलोकन्तान्त्रीक कदम सच्याउनु पर्ने बताए ।

काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले संविधानमा संसद विघटन गर्ने कुनै अधिकार नभएको भन्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए । उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम सचिन्नु पर्ने बताए । उनले कम्युनिष्टहरुले भागबण्डाले अहिलेको अवस्था सृजना भएको आरोप समेत लगाए । क्षेत्र नम्बर २ (ख) का सभापति डा गुणराज क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेतृ उमा मरासैनी, मिलनबाबु श्रेष्ठ, पार्वती शाह, राजेश्वर खनाल लगायतले बोलेका थिए ।

यस्तै क्षेत्र नम्बर ३ (क) ले पश्चिम चितवनको रामपुर बजारमा आयोजना गरेको विरोध सभालाई प्रमुख अतिथी नेपाली काँग्रेसका नेता टेकबहादुर गुरुङसहित रामकृष्ण घिमिरे, राजिव न्यौपाने लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम क्षेत्र नम्बर ३ (क) का सभापति अमृत बाँनियाको सभापतित्वमा सम्पन्न भएको हो ।

उता क्षेत्र नम्बर ३ (ख) ले शिवनगर बजारमा आयोजना गरेको कार्यक्रमलाइै सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस चितवनका कोषाध्यक्ष शंकर कँडेलले कम्युनिष्ट पार्टी सरकार चलाउन पूर्ण रुपमा असफल भएको बताए । संसद विघटन जस्तो गैरसंवैधानिक कदम चालेर सरकारले जनमतको कदर गर्न नसकेको उनको भनाई थियो ।

क्षेत्र नम्बर ३ (ख) का सभापति लालबहादुर दवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेतृ सबिता बराल, नेता साजन महतोलगायतले बोलेका थिए । संसद विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गरेको हो । संसद विघटनलाई असंवैधानिक भएको भन्दै काँग्रेसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !