चितवनः विश्वका भैंसी विज्ञहरुको उपस्थितिमा दशौं एशिया क्षेत्रीय भैंसी विज्ञहरुको महासभा (दशौं एशियन बफेलो कंग्रेस) नेपालमा हुने भएको छ । आउँदो जुन ३ देखि ५ सम्म महासभा काठमाण्डौंमा हुन लागेको हो ।
एशियन बफेलो एसोसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशु सेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकार अन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरु, नेपाल लाईभस्टक ईनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन् ।
हरेक तीन तीन वर्षमा हुने महासभा पहिलो पटक नेपालमा हुन लागेको हो । एसोसिएसनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.भूमिनन्द देवकोटा रहनु भएको छ । जुन देशका अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ । देवकोटाका अनुसार यस अघिको नवौं महासभा भारतको हरियाण राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एसोसिएसनको सचिवालय रहेको छ । एसोसिएसन सन् १९९२ मा स्थापना भएको हो । संसारभरिका भैंसी विज्ञहरुको साझा संस्था ईन्टरनेशनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय ईटालीको रोममा छ । सोही फेडेरेसन अन्तर्गतको एशियाका वैज्ञानिकहरुको संस्था एशियन बफेलो एसोसिएसन हो ।
महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिकहरु सहभागी हुने अपेक्षा गरिएको छ । महासभामा भैंसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्वमा बृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभवहरु आदान प्रदान गरिने देवकोटाले जानकारी दिनुभयो ।
नेपालले भैंसीमा गरेको विकास महासभामा प्रस्तुत गरिने छ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैंसीको अध्ययन, अनुसन्धान र विकासका लागि आव्हान गरिने कार्यक्रम रहेको छ । महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा. निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्वपूर्ण हुनेछ । यस अघि कृषि विश्वविद्यालयको अगुवाईमा यहाँ भएको अन्तर्राष्ट्रिय भैंसी समगोष्ठी भएको थियो । भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएको भन्दै विश्वभरबाट अहिलेको कार्यक्रममा सहभागि हुने भएकाले यो निकै महत्वपूर्ण हुने बताउनुभयो ।
विश्वमा भएका भैंसीहरु मध्ये ९२ प्रतिशत भैंसी एशियामा पाईन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीन हुँदै चौथोमा नेपाल पर्दछ । नेपालमा भैंसीको संख्या ५२ लाखभन्दा बढी भएको तथ्यांक छ । भैंसी दूध र मासुका लागि महत्वपूर्ण मानिन्छ ।







