चितवनः कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज) ले कोरोना परीक्षणमा बढी शुल्क लिएको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । बढी शुल्क लिएको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय चिवनले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।

बढी शुल्क लिएको बारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले प्रशासनको पत्र प्राप्त भएको बताउँदै यस विषयमा अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।

क्लिक खवरले यस बिषयमा नियमीत निगरानी गरे संगै पुस ६ गते “कोरोना परीक्षणमा चर्को शुल्क लिने पुरानो मेडिकल कलेजलाई उन्मुक्ति” शीर्षकमा समाचार प्रकाशित गरेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले चितवन मेडिकल कलेज र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा रु ५ सय बढी लिएको भन्दै मुद्दा चलाएको छ । कलेजका प्रतिनिधिले रु १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले रु ८ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् ।

पुरानो मेडिकल कलेजले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप रु १ हजार बढी लिएको प्रमाणसहित समाचार प्रकाशित भए पनि हालसम्म उक्त कलेजलाई कारवाही भएको छैन ।

प्रतिक्रिया दिनुहोस !