
चितवनः वर्षेनी वर्षायाममा डुवानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्नै राप्ती सहितको नदी तथा खोलाहरुमा तटबन्धन र स्पर निर्माणमा जुटेको हो ।
नगरपालिकाका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस वर्ष रु.७ करोडभन्दा बढी खर्च गरिंदै छ । स्वीस सरकारको पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणको काम थालिएको हो ।
राप्ती नदीमा स्पर निर्माण भईरहेको छ भने अन्य खोलाहरुमा तटबन्धनको काम थालिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । खैरहनी वडा नं. ७ र ९ को वैरहनी दक्षिण सीमाना भएर वगेको पम्फा खोलामा रु १ करोड ८० लाख बराबरको तटवन्धनको काम भईरहेको छ । त्यस्तै बुढीराप्ती खोलाको गौचरनमा रु.८० लाख बराबरको काम भईरहेको छ ।
बुढीराप्ती खोलाकै फसेर्नीमा रु ६० लाख, लदरा खोलामा रु ३९ लाख र लदरा खोला होलिल्याण्ड जाने बाटोमा रु ८० लाख बराबरको तटवन्धनको काम भईरहेको छ । राप्ती नदीमा ४ वटा स्पर निर्माणको काम थालिएको छ । त्यसका लागि झण्डै रु.२ करोड खर्च लाग्ने चौधरीको भनाई छ । अन्य सानातिनना तटबन्धनका काम पनि भईरहेका छन् ।
नदी तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षती हुने भएकाले ती खेतीयोग्य जमिनलाई जिविकोपार्जनसँग जोडेर तटबन्धनको काम गरिएको उहाँले बताउनुभयो । पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रम अहिले दोश्रो चरणमा संचालन भईरहेको छ । सो परियोजना अन्तर्गत पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रमको ६० प्रतिशत, खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भईरहेको छ । यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्दत पुगेको चौधरीले बताउनुभयो ।