चितवनः नारायणगढ–मुग्लिन सडक खण्डका १५ वटा पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तिब्रता पाएको हो ।

सो सडक खण्डमा रहेका १९ वटा पुल मध्ये यस अघि तीनवटा निर्माण भई सकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ वटा पुलका लागि गएको चैतमा ठेकेदार कम्पनी संग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरि अनक कन्ट्रक्सनले ठेक्का स्विकार गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इ. सबिना रानाभाटका अनुसार ती पुलहरुलाई दुई भागमा बिभाजन गरेर ठेक्का लगाईएको छ । जसमध्ये प्याकेज एकमा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुईन, कालि, टोपे, न्याम्सी र रिद्धि खोला गरि सातवटा पुल छन् । प्याकेज दुईमा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरि ८ वटा पुल रहेका छन् ।

प्याकेज एकको कुल ठेक्का रकम रु ६७ करोड ९९ लाख रहेको छ । पुल र नक्साङ्कनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकीलो वनाउने, नदी नियन्त्रण लगाएतमा खर्च हुने उहाँले जानकारी दिनुभयो । दोस्रो प्याकेजको कुल ठेक्का रकम रु ५९ करोड ५ लाख मध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाकी रकम अन्य काम गर्ने गरि ठेक्का लगाईएको हो ।

दुवै ठेक्का एउटै कम्पनीले पारेको हो । रानाभाटका अनुसार प्याकेज एकका सातवटा पुल चार सय ४२ मिटर लामो छ भने प्याकेज दुईका आठवटा पुल ३ सय ८१ मिटर लामो छन् । ठेक्का लगाइएका पुल मध्ये कालिखोलाको ७५ मिटर लामो छ । खहरे र भोर्लेको ७२ मिटर लामो हुन सक्ने आँकलन गरिएको छ । अन्य पुल छोटा रहेका छन् । प्याकेज एकमा पर्ने मुग्लिनबाट यताका पुल निर्माण कठिन रहेको छ । पुलको चौडाइ ११ मिटर हुने भनिए पनि डिजाइनका क्रममा रहेकाले मुग्लिन तर्फका केही पुल साँघुरो हुन सक्ने रानाभाट बताउनुहुन्छ ।

पुलको गाडी हिड्ने ठाउँ ७ दशमलब ५ मिटर फराकिलो हुने छ । दुबै पट्टि १ दशमलब ५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङ्गका लागि छुट्याईएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कन सहित ठेक्का दिइएकाले कुल खर्चमा १० प्रतिशत तल माथि हुन सक्ने आयोजनाले जनाएको छ । हाल सम्म तीन वटा पुल सेतीदोभान, जुगेडी र खहरे खोलाको नक्साङ्कन पुल महाशाखाले सदर गरि निर्माण समेत थालिएको छ । रानाभाटले भन्नुभयो “अन्य पुलको नक्सा वन्दै गरेको र सदरको चरणमा रहेका छन् ।”

भदौ यता काम तिब्र रुपमा भएको उहाँले जानकारी दिनुभयो । सो सडक बिस्तार गरिए पनि पुल साँघुरो हुँदा समस्या हुँदै आएको छ । ती पुल विश्ववैंकबाट पछि ऋण प्रबाह हुने गरि नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण थालेको हो ।

प्रतिक्रिया दिनुहोस !