काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । आजको भेलाले नयाँ केन्द्रीय कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको केन्द्रीय सदस्य दीपक देवकोटाले बताउनुभयो ।

त्यस्तै आजको बैठकले नेताहरुको कार्यविभाजन, जिम्मेवारी तोक्ने र विधान संशोधनको निर्णय गर्ने तयारी भएको नेता देवकोटाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आजको बैठकपछि पार्टीले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई जोड दिने उहाँले बताउनुभयो ।

सोहीअनुसार अध्यक्ष प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि आज  बस्दैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वीटमा साढे ११ बजे बैठक आव्हान गरिएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा नेताहरुको कार्यविभाजन हुनेछ ।

त्यस्तै, आजको बैठकले जनपरिचालन तथा आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय गर्ने नेता ज्ञवालीले बताउनुभयो । आजको केन्द्रीय कमिटी बैठकपछि बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमको कार्यक्रम तय हुने पनि उहाँले बताउनुभयो ।

दुवै पक्षले निर्वाचन आयोगमा कागजात पेश गरिसक्नुभएको छ । कुन पार्टीलाई नेकपाको आधिकारिकता प्रदान गर्ने विषयमा निर्वाचन आयोगले चाँडै निर्णय गर्ने बताएको छ । हिजो बुधबार अध्यक्ष ओली पक्षको प्रदेशस्तरीय भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई जिल्लाको बारेमा व्रिफिङ गर्न लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !