चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रंगशाला निर्माणको लागि सो नगरपालिकाले प्रदान गर्ने रु १७ लाख मध्य पहिलो चरणमा १० लाख रुपैया प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु १ लाख र कर्मचारीको तर्फबाटरु १ लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिए अनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आज रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रंगशाला निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाई भएको बताउनुभयो । रकम हस्तान्तरण गर्दै वनले भन्नुभयो “चितवनमा अन्तर्राष्ट्रिय गौरभको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौं ।”

चितवन मुलुकको तेश्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकुदको माध्यमबाट पर्यटनको विकास हुने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु ७ लाख पनि छिट्टै हस्तान्तरण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !