चितवनः विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीहरुलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमका अनुसार १२ वर्ष देखि १४ वर्ष भित्रका ६ हजार किशोरीलाई खोप लगाईदै छ । एक जनालाई दुई डोज खोप लगाउनु पर्ने हुन्छ । रु ५ करोडको खोप खरिदका लागि वोलपत्र आव्हान भई सम्झौता समेत भई सकेको उहाँले जानकारी दिनु भयो । आउँदो चैत सम्ममा खोप लगाउने योजना रहेको छ ।

चितवनमा पालिकाहरुसंग सहकार्य गरेर खोप लगाईने गौतमको भनाई छ । बिदेशी दाताहरुको सहयोगमा बिभिन्न जिल्लाका किशोरीहरुलाई खोप लगाईएको भए पनि सरकारले आफ्नै खर्चमा पहिलो पटक खोप लगाउन लागेको उहाँको भनाई छ । यहाँको क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्क अनुसार कुल क्यान्सर भएका बिरामी मध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् ।

महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने गौतमको भनाई छ । किशोरीहरुलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकीने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !