
काठमाडौं, ५ पुस । राष्ट्रपतिले संसद विघटनको सिफारिस पुनर्विचार गर्न पठाउनपर्ने पूर्व सभामुख दमननाथ ढुंगानाले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर नयाँ जनादेशमा जाने घोषणा गरेका थिए । संसद विघटनको सिफारिस लिएर उनी शीतल निवास पनि पुगेका छन् ।
पूर्व सभामुख ढुंगानाले भने संसद विघटनको सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टीले लोकतन्त्र चलाउन नजान्नु भएको प्रतिक्रिया दिए । ‘यति सुविधाजनक बहुमत हुँदा पनि संसद विघटन गर्न सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टी र प्रधानमन्त्रीले लोकतन्त्र र संसद चलाउन नजान्नु हो’ उनले भनेका छन् ।
ढुंगानाका अनुसार संविधानले संसद विघटनलाई एक प्रकारले निषेध नै गरेको छ । संसद विघटनाका संविधानले यति धेरै शर्तहरु राख्दा पनि संसद विघटन गर्नुपर्ने कस्तो परिस्थिति सृजना भएको होला ? उनले प्रश्न गरेका छन् ।
संविधान अनुसार संसद विघटन गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रपतिले हेर्नुपर्ने उनले बताए । उनले अघि भने, मेरो विचारमा राष्ट्रपतिले पुनर्विचार गर्नुस् भनेर पठाउनु राम्रो हुन्छ ।’