काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्‌को बैठक डाकेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटिमा अध्यादेश फिर्ता लिन बुधबार सहमत भएका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्नुको साटो पुनः संवैधानिक परिषद्‌को बैठक बोलाउनुभएको छ ।

ओलीले बैठक राखेपछि सबै सदस्यहरुलाई बैठकमा निमन्त्रणा पुगेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि साँझ ६ बजेको बैठकबारे जानकारी भएको कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले बैठकको जानकारी आए पनि सहभागिता भने नजनाउने बताउनुभयो ।

‘‘प्रधानमन्त्रीले साँझ ६ बजे संवैधानिक परिषद्‌को बैठक डाकेको भनिएको छ, ’’ सहमहामन्त्री महतले भन्नुभयो , ‘‘तर यही अवस्थामा बैठकमा जाने कुरा हुँदैन । उहाँ जानुहुन्‍न ।’’ बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले अध्यादेशलाई संवैधानिक राजनीतिक तथा नैतिक तीनै दृष्टिबाट गलत भन्दै अविलम्ब खारेजीको माग गरेको थियो ।

यति मात्र होइन बैठकले अध्यादेशअनुसार संवैधानिक परिषद्‌बाट हुने नियुक्ति पनि आफूलाई मान्य नहुने निर्णय गरेको थियो । संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशले संविधान र विधिको शासनको खिल्ली उडाउँदै अधिनायकवादतर्फको यात्रा थालेको भन्दै त्यसको विरोध कार्यक्रम तय गर्न लागेको कांग्रेसले प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार भएको समाचारपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस !