चितवन – चितवनको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा जारी गौतमवुद्ध कप २०२० क्रिकेटमा राप्तीले नारायणीविरुद्ध रोमाञ्चक जित हात पारेको छ । आज (सोमबार) सम्पन्न खेलमा १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

निर्माणाधिन रंगशालाको नमुना मैदानमा नारायणीले दिएको १३९ रनको लक्ष्य राप्तीले १ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो । राप्तीलाई जितका लागि अन्तिम ओभरमा ४ रन चाहिएको थियो । नारायणीका दिपेश श्रेष्ठले कसिलो बलिङ गरेपनी २ अतिरिक्त रन दिएपछि राप्तीको जित सम्भव भएको हो ।

त्यस अघी १३९ रनको लक्ष्य पछ्याएको राप्तीले खराब सुरुवात गरेको थियो । उसले पहिलो ओभरको पहिलो बलमा नै ओपनर अमित श्रेष्ठलाई गुमाएको थियो । अमित करण केसीको बलमा बोल्ड भएका थिए , जती बेला राप्तीले रनको खाता पनि खोलेको थिएन । अर्का ओपनर कुशल भुर्तेलले आरिफ शेखसँग मिलेर २३ रनको साझेदारी गरे । दोस्रो विकेटको रुपमा आरिफ करणको बलमा राजु रिजालबाट क्याच आउट भए । आउट हुनु अघी उनले ११ बलमा एक छक्का र २ चौका प्रहार गर्दै १४ रन बनाएका थिए ।

राप्तीका कुशलले उत्कृष्ट ब्याटिङ गर्दै ६५ रन बनाए । विष्फोटक ब्याटिङ गरेका उनले ४१ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । उनी ११ औं ओभरको अन्तिम बलमा किशोर महत्तोद्धारा बोल्ड भए । नारायणीका करण केसीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका करणले एक मेडन राख्दै २४ रन खर्चिए । किशोर महत्तो र सुशान भारीले समान २-२ विकेट लिए ।

त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको नारायणीले २० ओभरमा १३८ रन बनाएको थियो । माथिल्लो र मध्यक्रमका ब्याटम्यानहरु खास्सै नचलेपनी तल्लो क्रममा आएका करणले नारायणीको इनिङ उकासेका थिए । नारायणीले स्कोरबोर्डमा ३ रन हुँदा नै २ महत्वपूर्ण बिकेट गुमाएको थियो । ओपनर राजु रिजाल खाता नै नखोली आउट भए । उनी दोस्रो ओभरको तेस्रो बलमा रन आउट भए । अर्का ओपनर रित गौतमले १३ रन बनाए । मात्र ७ बल खेलेका रितले २ चौका प्रहार गरे ।

नारायणीका लागि पनि तल्लो क्रममा आएका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे । करणले ३२ तथा किशोरले ३६ रन बनाए । २२ बल खेलेका करणले ३ छक्का र १ चौका तथा १४ बल खेलेका किशोरले ३ छक्का र २ चौका प्रहार गरे ।

बागमतीका अविनास बोहरा र सुर्य तामाङले समान २-२ विकेट लिए । सुर्यले ४ ओभरमा २७ रन खर्चिए । अविनासले ४ ओभरमा ४१ रन दिए । जितपछि राप्ती शिर्ष स्थानमा रहदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हारका बाबजुत पनि नारायणी फाइनलमा पुगिसकेको छ । तीन टोली सम्मिलित प्रतियोगितामा राउण्ड एण्ड रोविनको आधारमा शिर्ष २ मा रहदै राप्ती र नारायणी फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेलमा मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस !