चितवनः बि.सं. २०१५ सालमा कांग्रेस नेता वीपी कोईरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नु भएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले बि.सं. २०१५ सालको निर्वाचनमा वीपीसँगै गीत गाउनु भएको थियो । उहाँले भन्नुभयो “उहाँले ‘ईनक्लब दाजुभाई जिन्दावाद भनन्, तिमी पनि दाजुभाई कांग्रेसै बनन्’ भन्ने गीत गाउँदै चर्चामा आउनु भएको थियो ।”
बि.सं. १९८५ साल बैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिनु भएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक आन्दोलनको क्रममा पटकपटक गरी १० महिना जेलजीवन बिताउनु भएको थियो ।
बि.सं. २०३६ सालको जनमतसंग्रहमा रत्ननगरको पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेस र संयुक्त जनमोर्चाको रत्ननगर संयोजक, २०४४ सालदेखि २०५६ सालसम्म नेपाली कांग्रेस रत्ननगरको सभापति हुनु भएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो बाबुको चुनावमा समेत खटिनुभएका पौडेलको पार्थीव शरीरमा वीपी पुत्र एवं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । पौडेलका हाल तीन छोरा र दुई छोरी छन् ।
महामन्त्री कोईरालाले आजै रत्ननगरमा दिवंगत हुनुभएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थीव शरीरमा पनि घरमै पुगेर पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बि.सं. १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिनु भएका पौडेलले बि.सं. २००७ सालदेखि १७ सालसम्म पटक पटक जेल जीवन बिताउनु भएको थियो । बि.सं. २०४६ सालको जनआन्दोलनमा उहाँको टाउकोमा गोली लागेको कांग्रेस चितवनले जनाएको छ ।
उहाँका दुई छोरा र चार छोरी छन् । दुवै जनाको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।






