चितवनः चितवन राष्ट्रिय निकुञ्जमा सोमाबार एउटा गैंडा मृत्यु फेला परेको छ । निकुञ्जको भित्री (कोर) ईलाकामा ३५ वर्षको भाले गैंडा मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारामा मृत अवस्थामा गैंडा फेला परेको हो । सो गैंडा बुढो भएर कालगतिले मरेको आँकलन गरिएको छ । उक्त गैंडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमित रुपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिनुभयो । उक्त गैंडाको खाग खुर सुरक्षित रहेको छ ।
योसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरीशिकारीबाट चार गैंडा मारिएका छन् । निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ । यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।






