चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक एब स्वास्थ्य कर्मीहरु सरकारी अस्पतालमा भन्दा बाहिर वढि व्यस्थ हुने गरेको वताउनु भएको छ । आज यहाँ भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसले गर्दा सरकारी अस्पतालको सेवा प्रभावित वन्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारी अस्पतालको पारिश्रमिकले घरखर्च नचल्ने भएकाले होला । यसलाई व्यवस्थापन गर्नका लागि सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा ल्याउँन लागेको छ ।” कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ७२ प्रतिशत जनालाई उपलब्ध गराउने बताउनु भयो । १४ वर्ष मुनिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताउनुभएको हो ।
उहाँले खोप कति अनुदानमा र कति सरकारले खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।”
कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै मन्त्री ढकालले भन्नुभयो “आर्थिक रुपमा विकसित देशहरु समेत यसको उपचार र रोकथामका घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ ।”
कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको बताउँदै उहाँले भन्नुभयो “कुनै जात, धर्म, लिंग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो ।
६ प्रतिशत जनताको कोरोना परीक्षण गरिसकिएको जानकारी दिंदै मन्त्री ढकालले दैनिक ३० हजारको परीक्षण गर्ने सक्ने क्षमता नेपालमा रहेको बताउनुभयो । सरकार प्रदेशमा ५० शैयाको र केन्द्रमा ३०० शैयाको ल्याब सहितको सरुवा रोग उपचारका लागि अस्पताल बनाउने अभियानमा लागेको बताउँदै मन्त्री ढकालले भन्नुभयो “पहिले भएका अंचल अस्पताललाई दुई सय शैयाको पु¥याईन्छ, सबै जिल्लामा ५० शैयाको अस्पताल बन्छ ।” उहाँले कुनै पनि पालिका अस्पतालबिहिन नहुने गरी काम भईरहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजनना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारी, पूर्व मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायतले बोल्नु भएको थियो ।
सो अवसरमा ५० शैयाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० शैयाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिईयो । सरुवा रोग भवन निर्माण गर्न रु.८ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजना अन्तर्गत दुई वर्षमा सम्पन्न हुने छ ।
आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु.११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु.९ करोड बजेट विनियोजन गरिसकेको छ ।







