चितवनः संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले मन्त्री भट्टराईको उपस्थितिमा आज यहाँ आयोजना गरेको भरतपुर विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले विस्तारका कामहरु क्रमशः अघि बढेको बताउनु भएको हो ।

विमानस्थलको नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र क्रमशः सार्दै लैजाने तर विस्तारको कामलाई नरोक्ने उहाँको भनाई थियो । नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्रका लागि महानगरपालिका वडा नं. ११ को बसेनीमा आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन महानगरलाई उहाँले निर्देशन दिनुभयो ।

सेनाले हाल गण रहेको ठाउँमा उद्धार केन्द्र (रेस्क्यु सेन्टर) राख्न चाहेको र नयाँ ठाउँमा केही बढी जग्गा माग गरेको भन्दै उहाँले दुवै प्रस्ताव सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “विमानस्थल विस्ततारका लागि सबै सकारात्मक छन् । राज्यका कुनै निकाय असहयोगी छैनन् ।” बाहिर हल्ला गरिए जस्तो नेपाली सेना नकारात्मक नरहेको मन्त्री भट्टराईले स्पष्ट पार्नुभभयो । उहाँले भन्नुभयो “वैकल्पिक व्यवस्थाको सुनिश्चितता हुने वित्तिकै सेना हट्छ ।”

तराईका जिल्लाहरुबाट चितवन नजिक भएकाले यहाँ उद्धार केन्द्र हुँदा सहज हुने मन्त्री भट्टराईको भनाई थियो । हाल नेपाली सेनाको घोडा प्रजनन् केन्द्र मात्रै व्यवस्थापन गर्दा पनि १ हजार ५ सय मिटर धावनमार्ग बनाउन सकिने भएकाले स्थानान्तरणको काम र विस्तारको काम सँगसँगै अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

चौबीसकोठीबाट मेघौली जाने बाटोलाई उद्धार केन्द्र र धावनमार्गको बीच वा छेउबाट जहाँ उपयुक्त हुन्छ त्यहीबाट बनाउने गरी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । देशको मध्यभागमा रहेकाले सरकारले यो विमानस्थलको विस्तारको कामलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो “यो विमानस्थल अन्तर्राष्ट्रिय निकायको निगरानीमा छ । यसलाई सुरक्षित बनाउने टुंगोमा मन्त्रालय पुगेको छ ।”

मन्त्री भट्टराईले बि.सं. २०७६ भदौमा यहाँ छलफल भएसँगै तत्कालै ६ सयस्यीय समिति बनाएर सो समितिले माग २३ गते प्रतिवेदन बुझाएको जानकारी दिंदै उहाँले सोही अनुसार काम अघि बढाउन लागिएको बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले सुरक्षिात विमानस्थल बनाउनु पर्छ भन्ने विषयमा गरेको प्रस्तावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएका कारण प्रगति हुन सकेको बतताउनुभयो । उहाँले सेनालाई आवश्यक जग्गा उपलब्ध गराउन गर्नुपर्ने प्रक्रिया अघि बढाउन महानगर सकारात्मक रहेको भन्दै पछिल्लो समयमा विमानस्थल आसपासमा मापदण्ड विपरित घर निर्माण गर्न रोक लगाईएको जानकारी दिनुभयो ।

विमानस्थल विस्तार र सुरक्षाका लागि महानगरले गर्नुपर्ने आवश्यक सम्पूर्ण काम गर्न तयार रहेको भन्दै उहाँले भन्नुभयो “म प्रमुख भएदेखि नै विमानस्थल विस्तारका लागि आवश्यक पहल गर्दै आएको छु, मन्त्रीज्यूहरुको सकारात्मक सहयोगका कारण कामले गति लिएको छ ।”

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्राधिकरणका राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिपक अधिकारी, कालिबहादुर गण भरतपुरका गणपति विज्ञान खनाल, भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थल विस्तारको हालसम्मको प्रगतिका बारेमा प्रकाश पार्नुभएको थियो ।

नक्सांकनको काम अन्तिम चरणमा पुगेको र दुई महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने सो अवसरमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस !