चितवन : कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ ।

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैँअघि नै यो अभियान चलाउन छलफल भए पनि कोरोनाका कारण स्थगित गरिएको बताए । उनका अनुसार देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइने छ । कोरोनाका कारण सुनसान रहेको यहाँ आन्तरिक पर्यटक भने आउने क्रम भने छिटफुट देखिन थालेको छ । “दशैँ तिहारमा ठूलो अपेक्षा थियो तर पर्यटक आएनन् । स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर पर्यटकलाई सुरक्षित साथ राखिरहेका छौँ तर आवागमन कम छ”, भट्टराईले भने ।

यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । होटल तथा रेष्टुरेण्टले कोभिड प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट भने दिइरहेका छन् ।

भट्टराईले पाँच देखि सात प्रतिशत मात्रै पर्यटक आएको जानकारी दिनुभयो । कोभिड–१९ र त्यसपछिको लकडाउनले रोजगार गुम्यो । व्यापार व्यवसाय ठप्प भए । त्यसैले नेपालीको क्रयशक्तिमा कमी आयो कि भनेर पर्यटन व्यवसायीले पनि साविकको दरमा २० देखि ३० प्रतिशत छुट दिइरहेका छन् ।

सामूहिकभन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराइको भनाइ छ तर पनि छुटमा पर्यटक आकर्षित नभएको व्यवसायीको गुनासो छ ।

होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेण्टमा आउने बताए ।

यद्यपि जुन अपेक्षा गरेर १५ प्रतिशतसम्म छुट दिइएको छ त्यो अनुरुप पर्यटक आएका छैनन् । छुटसहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तर्राष्ट्रिय हवाई उडान खोल्नुपर्नेमा व्यवसायीको माग छ । सौराहामा ठूला साना १४० वटा होटल छन् भने करिब ५० वटा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस !