दाङ : नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सत्तारुढ नेकपाको अन्तरकलले मुलुकलाई बर्बादीको बाटोमा लगेको आरोप लगाएका छन् । कोरोना महामारीले मुलुक सामू गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्युनिकरणको दीर्घकालीन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको नेता महरको आरोप छ ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले दाङमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको बताए । ‘नागरिकका समस्या र मुलुकको आवश्यकता एकातिर छन्, सरकार अर्कैतिर,’ नेता महरले भने–‘झुटो नाराले भ्रम त छर्न सकिन्छ तर मुलुक चलाउन सकिदैन भन्ने पुष्टि भएको छ ।’

नागरिक सिटामोल पाइ नरहेकाले प्रधानमन्त्रीले मुलुकमा आमुल प्रगतिको भ्रम गर्नु हाँस्यास्पद भएको उनको भनाइ छ । नेता महरले नेकपाका लज्जाष्पद राजनीतिक गतिबिधीले नागरिकमा व्यवस्थाप्रति नै बितृष्णा फैलिरहेको बताए । महरले भने, ‘जनताले दुई तिहाई मत दिएर सरकारमा पठाए तर सरकारले के ग-यो नेकपाकै अध्यक्ष प्रचण्डले सचिवालयमा ल्याएको प्रतिवेदन पढे हुन्छ ।’

सरकार असफल भएको कुरा काँग्रेस लगाएको आरोप मात्रै होइन, नेकपाकै दस्तावेजले पुष्टि गरेको उनको भनाइ छ । नेता महरले भने, ‘कम्युनिष्टको असली चरित्र यही हो, यिनीहरुबाट देश बन्ने कुरामा कसैले पनि भ्रम नपाले हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !