बैतडी : बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो ।
दुर्घटनाका घाइते मध्य ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ। बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको प्रहरीले जनाएको छ ।






