एजेन्सीः अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफ्नो कार्यकालका योजना बनाउन सुरु गरेका छन् । हाल विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेकाले कोरोना नियन्त्रणलाई बाइडेनको टोलीले आफ्नो प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।

उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ भने सर्वसाधारणहरूलाई मास्क लगाउन अनिवार्य गरिनेछ ।

बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
बाइडेनको कार्यकालको सुरुमा नै अमेरिका पुनः जलवायु सम्बन्धी पेरिस सम्झौतामा प्रवेश गर्ने तयारी छ ।

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आफ्नो काम सुरु गर्ने योजना अघि बढाएपनि राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् । केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना जारी छ।

बाइडेनको नेतृत्वको अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय पनि बदर गर्ने बताइएको छ । ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।

राष्ट्रपति निर्वाचित भएपछिको पहिलो सम्बोधनमा उनले यो निको हुने समय भएको बताएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई विभाजित नभएर एकताबद्ध पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !