काठमाडौँः कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद गर्नुभएको छ । वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री ओलीले संवादका लागि बालुवाटार बोलाएका र उहाँहरुबीच छलफल भइरहेको छ ।

छलफलमा नेपालले आफुनिकट मानिने नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि संगै लिएर जानु भएको छ । बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै शनिबार बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए ।

शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको थियो । त्यसको अर्कोदिन ओलीले छलफलका लागि बोलाएको नेपालनिकट एक नेताले बताए ।

यस अघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो । तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आउनुभएको छ ।पार्टीभित्र अल्पमतको सामना गरिरहेका अ‍ोलीले ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन् ।

त्यसअगाडि साउन ९ मा पनि प्रधानमन्त्री ओलीले नेता नेपालसँग छलफल गर्नुभएको थियो । पार्टीभित्र आफुमाथि दबाब बढ्दा ओलीले वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै पनि भेट गर्दै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस !