काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो ।

प्रधानमन्त्री केपी ओलीले ९ बजेका लागि समय उपलब्ध गराएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले वताउनुभयो । पार्टीभित्र चर्किदो विवादले ओली र प्रचण्डको संवाद तिक्ततापूर्ण बनेपछि सचिवालयका सदस्यले सामूहिक भेट चाहिरहेका थिए ।

प्रचण्ड र ओलीबीच हिजो भएको भेटमा पनि सामूहिक छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । त्यतिबेला प्रचण्डले पहिला आफूले नेताहरूसँग छलफल गर्ने र त्यसपछि संयुक्त रूपमा आउने बताएका थिए । अनौपचारिक रूपमा सचिवालयका सदस्यवीच छलफलका लागि धुम्बाराहीमा बस्ने जानकारी ओलीलाई पनि थियो । त्यसमाथि ओलीनिकट नेता सुवास नेम्वाङ आज बिहानै प्रचण्डनिवास खुमलटार पुगेका थिए । र, नेम्वाङलाई त्यतिबेलै जानकारी थियो, सचिवालयका सदस्यलाई धुम्बाराहीमा प्रचण्डले बोलाएका छन् । त्यसैले ओली समूहले आजको अनौपचारिक बैठकलाई गलत अर्थमा बुझ्न नहुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !