पातला पर्यटक बाक्लै वन्यजन्तु

चितवनः सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगेपनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिले पहिले धेरै पर्यटक र कोलाहालका कारण सुनसान ठाउँतर्फ केन्द्रीत हुने गरेका वन्यजन्तु यतिबेला जीपमार्ग आसपास नै पर्याप्त देखिने गरेका छन् ।

निकुञ्जभित्र जीप सफारीमा जाने जोकोहीका लागि आहा बन्ने गरेको । तीन दिन अघि पर्यटक बोकेर गएका जीप चालक प्रताप परियार बाघ लामो समय जीप वरिपरि रहेपछि पर्यटक निकै रमाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “निकुञ्जको रानीखोला नजिकै लघुना ताल छ । त्यसको आडैमा अजंगको बाघ भेटियो । २० मिनेट जति हाम्रो पछिपछि आयो ।” उहाँले थप्नुभयो “एक जना आमा उहाँका छोराछोरीले भिडियो खिचेर निकै रमाईलो गरे ।” यस्तो अवसर पर्यटकले कम मात्रै पाउने भए पनि अहिले धेरै पछि खुलेकाले सम्भावना निकै हुने गरेको उहाँको भनाई छ ।

समूहमा गैंडा, मृग, चित्तल, गौरीगाई, बाँदर सहजै देखिने गरेको उहाँ बताउनुहुन्छ । विगतमा गैंडा देखाउन समेत ठूलै कसरत गर्नु पर्ने भए पनि अहिले सहजै रुपमा प्रायः सबै जनावर देख्न सकिने परियारको अनुभव छ ।

ललितपुर सानागाउँकी पिंकी शेर्पा चार जना साथीसहित निकुञ्ज जीपमा घुम्दै गर्दा निकै रमाईलो भएको अनुभव सुनाउनुहुन्छ । लामो समयपछि खुलेर हो वा संधैं यस्तो हो, आफूलाई थाहा नभएको भन्दै उहाँले भन्नुभयो “दुर्लभ एकसिंगे गैंडा, हरिण, मृग जस्ता जनावर सजिलै नजिकैबाट हेर्न पाउँदा स्वर्णिम अनुभव हुँदो रहेछ ।” पहिलो पटक चितवन राष्ट्रिय निकुञ्ज घुम्नुभएकी शेर्पालाई जीवनमा एकपटक यो निकुञ्ज सबैले हेर्नै पर्छ जस्तो लाग्यो ।

निकुञ्जको मुख्य कार्यालय कसराको घडियाल प्रजनन् केन्द्र, डुंगा सयर जस्ता पर्यटकीय गतिविधिले पनि आफूलाई निकै लोभ्याएको उहाँले सुनाउनुभयो । सामुदायिक वनमा हात्ती सफारीका क्रममा पनि दुर्लभ, अन्य जनावर र चराचुरुङ्गी सहजै देख्न पाएपछि पर्यटक निकै रमाउने गरेको पर्यटन व्यवसायी सुमन घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो “निकुञ्ज घुमेर आएका पर्यटक निकै रमाउने गरेका छन् ।” जंगल सफारी लजका सञ्चालक समेत रहनु भएका घिमिरेले थप्नुभयो “लामो समयपछि पर्यटकीय गतिविधि खुलेकाले जसले निकुञ्ज घुम्ने अवसर पाएको छ, उसले निकै ठूलो मौका पाएको छ ।”

पहिलेभन्दा कम खर्चमा धेरै जनावरको अवलोकन गर्न अहिले पर्यटकले पाएका छन् । यहाँको मौसम पनि अहिले घुम्नका लागि निकै अनुकूल छ । घिमिरेको भनाईमा निकुञ्ज घुम्न आउने पर्यटकले निकुञ्जबाटै हिमाल पनि देख्न पाएका छन् । यो साता मौसम खुलेकाले चितवनका विभिन्न ठाउँबाट हिमाल सहजै देखिने गरेको छ ।

गर्मी जिल्लाको रुपमा परिचित चितवनमा यतिबेला न गर्मी छ न जाडो । दिउँसोमा घाम ताप्ने रातीमा सिरक ओढ्नु पर्ने उपयुक्त वातावरण भएकाले धेरैको आकर्षण निकुञ्ज घुम्ने भएको घिमिरेको भनाई छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लामो समयपछि निकुञ्ज खुलेकाले पर्यटक कम भए पनि धेरै जनावर हेर्ने अवसर पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “जो जतिलाई घुम्ने अवसर मिलेको छ, उहाँहरुले धेरै जनावर हेर्न पाउनु भएको छ ।” क्रमशः पर्यटकको संख्या बढ्ने उहाँ बताउनुहुन्छ ।

निकुञ्जभित्र जीप सञ्चालन हुने बाटो क्षेत्रमा गत वर्षहरुमा मानवीय चाप बढी हुने हुँदा जनावर टाढा टाढा भाग्ने भए पनि यतिबेला बाटोको आसपासमा नै विचरण गरेको देख्न सकिने बरालको भनाई छ ।

चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । काठमाण्डौं र पोखरा पछि सबैभन्दा बढी पर्यटक यहाँ आउने गर्दछन् । निकुञ्जमा बाघ, एकसिंगे गैंडा, गौरीगाई, लघुना, घडियाल गोही, मृग, जरायो, अर्ना लगायतका जनावर, चराचुरुङ्गी, वनस्पतिको अध्ययन अनुसन्धान र अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दछन् ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer