चितवनः अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पशु चिकित्सा तथा पशुपालन विषयमा भर्ना अनुमति पाएको छैन । न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि नेपाल पशु चिकित्सा परिषद्ले भर्ना अनुमति नदिएको हो ।

अध्ययन, अनुसन्धान र प्रसार गर्ने विश्वविद्यालयले ६ वटा आंगिक र ८ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएर अनुगमन गरिरहेको छ । तर आफ्नै केन्द्रीय क्याम्पस रामपुरमा मापदण्ड पूरा गर्न नसकेपछि यस वर्षको भर्ना पनि अन्योलमा पुगेको छ ।

सामान्यतया सो विश्वविद्यालयले दसैं र तिहारको बीचको समयमा स्नातक तहमा भर्ना खोल्ने भए पनि परिषद्बाट अनुमति नपाउँदा भर्ना खोल्न सकेको छैन । परिषद्का रजिष्टार डा.नारायण घिमिरे तोकिएका न्यूनतम मापदण्ड पूरा गर्न नसक्दा अनुमति नदिईएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले तारन्तार न्यूनतम मापदण्ड पूरा गर्न पत्राचार गरेपनि विश्वविद्यालयले हालसम्म पूरा गर्न सकेको छैन ।”

उहाँका अनुसार पटक पटक मापदण्ड पूरा गर्ने प्रतिबद्धता आए पनि काम भने हुने गरेको छैन । पशु चिकित्सक उत्पादन गर्ने जस्तो संवेदनशील विषयमा प्रयोगशाला, पशु अस्पताल, पशुको संख्या, प्रयोगशालामा हुने उपकरण जस्ता सामान्य विषय वस्तु पनि विश्वविद्यालयले पूरा गर्न नसकेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “चिकित्सक उत्पादन गर्ने हो, प्रतिबद्धताले हुँदैन, काम हुनुप¥यो ।” उहाँले जोड दिनुभयो “मापदण्ड पूरा नभए यस वर्षको भर्ना अनुमति पनि संभव छैन ।” विश्वविद्यालयले ध्यान दिएमा मापदण्ड पूरा गर्न धेरै समय र खर्च नलाग्ने उहाँको भनाई छ ।

बि.सं. २०७५ सालमा पहिलो वर्षको न्यूनतम मापदण्ड पूरा भएर विद्यार्थी भर्ना गर्न अनुमति दिएको भए पनि दोस्रो र तेस्रो वर्ष पूरा गर्नुपर्ने मापदण्ड पूरा विश्वविद्यालयले अझै पूरा गर्न सकेको छैन । त्यहाँ उत्पादित जनशक्ति दक्ष नभएको प्रश्न समेत उठ्ने गरेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “त्यहाँ अध्ययनरत विद्यार्थीले तोकिएको मापदण्ड अनुसारको अध्ययन र प्रयोगात्मक कक्षा लिन पाएका छैनन् ।”

विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी परिषद्ले तोके अनुसारका मापदण्ड पूरा गर्ने प्रतिबद्धताका साथ भर्नाको अनुमति माग्ने काम भएको बताउनुहुन्छ । आफू आए लगत्तै परिषद्मा अनुरोध गरिएको भन्दै उहाँले भन्नुभयो “तत्काल हुने काम गरिहाल्छौं, अरु मापदण्ड क्रमशः पूरा गर्दै जानेछौं ।”

विगतका उपकुलपति र डिनका प्रतिबद्धता अनुसारको काम नभएपछि परिषद्ले प्रतिबद्धताको भरमा भर्ना स्वीकृत दिने संकेत देखिंदैन । रेग्मी अहिले जसरी पनि भर्ना गर्नका लागि भेटेनरी संकायका विज्ञहरुसँग छलफलमा जुटेको बताउनुहुन्छ ।

सो विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.ईश्वरीप्रसाद ढकाल सोही संकायको डिन हुँदै उपकुलपति भएर कार्यकाल बिताईसक्नु भएको छ । उहाँपछि झण्डै १४ महिना उपकुलपतिको जिम्मेवारी पाउनु भएकी प्रा.डा.शारदा थपलिया पनि यस अघि सोही संकायको डिन हुनुहुन्थ्यो ।

सो विश्वविद्यालयको पशु चिकित्सा संकायमा ५० जना विद्यार्थी पढ्ने गरेका थिए । न्यून शुल्कमा पढ्न पाउने भएपछि देशैभरका विद्यार्थीहरुको रोजाई यस विश्वविद्यालय पर्ने गर्दछ । तर पछिल्लो समय विश्वविद्यालय अस्तव्यस्त बनेपछि भर्ना समेत लिन सकेको छैन ।

विश्वविद्यालयमा राजनीतिक खिचातानीका कारण लामो समय उपकुलपति सहित उच्च अधिकारीहरुको पद खाली रहेर कायममुकायमको भरमा संचालन हुँदै आएकोमा हालै मात्रै विश्वविद्यालयले उपकुलपति पाएको छ । सेवा आयोगको अध्यक्ष, रजिष्टार, डिन लगायतका महत्वपूर्ण पदहरु अझै रिक्त छन् ।

यस विश्वविद्यालयमा प्राध्यापक, कर्मचारीदेखि विद्यार्थीसम्मले समय समयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम गर्दा विद्यार्थीले पूरा समय पढ्न पाउँदैनन् भने प्रशासनको काम समेत ठप्प हुने गरेको छ ।

सोही ठाउँमा यस अघि त्रिभुवन विश्वविद्यालयको आंगिक रामपुर कृषि क्याम्पस रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !