चितवन : ग्यास बुलेटमा मोटरसाइकल ठोक्किदा चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ९ मिलनचोकमा एनएल ०१ एबी ९२३५ नम्बरको ग्याँस बुलेटमा ना ४२ प ९७१५ नम्बरको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार राप्ती नगरपालिका ५ का २४ वर्षीय मनोज सुनार रहेका छन् । गम्भीर घाइते भएका सुनारको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल चालक सोही स्थानका ४८ वर्षीय खडक बहादुर सुनार घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते र मृतक बाबु छोरा हुन् ।
प्रहरीका अनुसार टाँडीबाट आइरहेको ग्यासबुलेटमा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएको हो । ओभर टेक गर्ने क्रममा मोटरसाइकल ग्यास बुलेटको बिच भागमा ठोक्किएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र ग्यास बुलेट चालक नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने बर्ष ४२ का राजु कुमार थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।