काठमाडौंः नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा। गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा कोभिड १९ र आकस्मिक सेवाबाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।

संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताउनुभयो । आमरण अनशनमा रहेका डा( केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफूहरू बाध्य भएको पनि उहाँको भनाई छ । सरकार गम्भीर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भीर आपत्तिसमेत प्रकट गरेको छ ।

आइतबारसम्म पनि सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताउनुभयो। संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखाकार्यालय, नेपाल भरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने समेत डा. रिजालले जानकारी दिनुभयो । डा.केसी आमरण अनशनमा बसेको आज २७ दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !