बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

आज (मंगलबार) बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो। कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए। उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो। मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन्।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए।  प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ।

नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ। प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन्। प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। उनीहरूले कता मतदान गर्छन् खुलिसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस !