चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्‍यु भएको छ भने ७ जना घाइते भएका छन् । मृत्‍यु हुनेमा मोटरसाइकलको पछाडी सवार तनहुँको घिरिङ गाउँपालिका ४ का ३५ वर्षीय जित बहादुर राना रहेका छन् ।

दुर्घटनामा परी गम्भिर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो २:४५ बजे मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते अन्य सात जना मध्य ६ जनाको सोही अस्पतालमा तथा एक जनाको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते अटो चालक नवलपुरको गैंडाकोट नगरपालिका ८ का ३७ वर्षीय सागर थापा, आटोमा सवार सोही स्थानकि २२ वर्षीया बिनिता थापा, २४ वर्षीया पुजा थापा, २३ वर्षीया रितु थापा, ८ वर्षीय समिर थापा र ५० वर्षीय मिनबहादुर थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य छ ।

यस्तै मोटरसाइकल चालक तनहुँको घिरिङ गाउँपालिका ४ का ३५ वर्षीय बेल बहादुर रानाको सिएमसीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ सिमलतालमा नारायणगढबाट मुग्लिङतर्फ गईरहेको प्रदेश ३-०३००१ह ४४७ नम्बरको अटो र विपरीत दिशाबाट आई रहेको ना५०प ४५५० नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाएको हो ।

प्रतिक्रिया दिनुहोस !