काठमाडौं – नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीबीच पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ । १९ गते बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा र पार्टीभित्र देखिएको आन्तरिक विवादबारे नेताहरुबीच छलफल भइरहेको काँग्रेसका एक नेताले जानकारी दिए ।

आज (शनिबार) विहान १० बजेबाट सानेपामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतबीच छलफल भइरहेको छ ।

कोरोनाले प्रभावित महाधिवेशनको कार्यतालिका, भातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र काँग्रेस प्रवेश गरेर तत्कालीन राप्रपाका नेता सुनीलबहादुर थापासहितका नेताहरूको व्यवस्थापनका विषयमा छलफल भइरहेको ती नेताले बताए ।

यस्तै वरिष्ठ नेता पौडेल पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको ज्ञापनपत्र र संसदमा विशेष अधिवेशन बोलाउन माग गर्नेविषयमा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !