काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको दशैंको शुभकामना सन्देशमा कालापानी क्षेत्रबिनाको नक्सा भएको निशान छाप प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को बिरोध शुरु भएको छ ।

शुक्रबार फुलपातीको दिन प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट शुभकामना लेखिएको तस्बिर सार्वजनिक गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो फोटोको छेउ निशान छाप राखेका छन्। त्यसको मुनि लेखिएको छ- २०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसकेको छ ।

तर, प्रधानमन्त्री ओलीले नै नेपालको नयाँ नक्साको साटो पुरानो नक्सा प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू? गम्भीर विमती दर्ज होस्!’ उनले प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिन सट राख्दै ट्वीटरमा लेखेका छन्,‘ देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन?’

दुई दिनअघि प्रधानमन्त्री ओलीले भारतको खुफिया एजेन्सी रअका प्रमुखलाई बालुवाटारमा भेटेका थिए। कतिपयले उक्त भेटको प्रभाव नक्सामा देखिएको भन्दै व्यंग्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस !