काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिने सरकारको निर्णय गैरजिम्मेवार भएको बताएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबाट जनतालाई जोगाउन भइरहेकोे सरकारले उचारको दायित्वबाट पन्छिन गरेको निर्णय गैरजिम्मेवार भएको बताएका हुन् । ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रवक्ता शर्माले नेपाली संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।