
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आकस्मिक रूपमा बोलाएको बैठक सकिएको छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटरमा सकिएको बैठकले केही निकायमा नियुक्ति गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
त्यस्तै, बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्यितारी दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् हेरेफेरको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा बोलाएको बैठकलाई महत्त्वका साथ हेरिएको थियो । तर, आजको बैठकमा मन्त्रिपरिषद् हेरफेर कुनै छलफल नभएको बताइएको छ ।
सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरे पनि प्रधानमन्त्रीले आज आकस्मिक रूपमा बैठक बोलाएका हुन् ।