भरतपुरः नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।

भरतपुरमा बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन् । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन् भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन् ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । “ए” श्रेणीमा पर्ने खेलाडीले मासिक १५ हजार, “बी” श्रेणीका खेलाडीले मासिक १२ हजार र “सी” श्रेणीमा पर्ने खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन् ।

यसअघि पुरुष खेलाडीले सन् २०१९ मा ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् ।

क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को प्रावधानअनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले २८ असोजमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो ।

‘परिस्थितिले अनुमति दिए भौतिकरूपमै उपस्थित भएर साधारणसभा गर्छौँ, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छ,’, अध्यक्ष चन्दले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !