चितवनः सौराहाका पर्यटन व्यावसायीहरु आजबाट आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरु हुन थाले पछि उत्साहीत भएका छन् । खुलेका होटलमा खासै पर्यटक आई नसकेको भए पनि टेलिफोनबाट सेवा र सुबिधाका बारेमा जानकारी लिने क्रम निकै वढेको छ । झण्डै ६ महिना लकडाउन र निषेधाज्ञाका कारण वन्द होटल असोज १ गतेबाट खुल्न सुरु भएका हुन ।
चितवन जिल्ला असोज ७ गते सम्म पूर्ण रुपमा खुलेको छैन । रेष्टूरेन्टहरुमा बसेर खान पाईदैन भने जोर बिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाईन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताउनुभयो । उहाँले भन्नुभयो “आजबाट आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरु हुन थालेकाले आश जगाएको छ ।”
असोज ७ गते पछि क्रमश पर्यटक आउन सुरु गर्ने अनुमान उहाँको छ । ठाउँठाउँबाट आन्तरिक पर्यटकहरुले फोन गरिरहेकाले दशैं अगाडी सम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उहाँको अनुमान छ । होटल वन्द भए पछि भएको फोहोर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्ती मध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जंगल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्ट फुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोनहरु आईरहेको घिमिरेले जानकारी दिनुभयो । घरमा बस्दा बस्दा दिक्क भएका र काम बिशेषले आउनु परेकाहरु सौराहा आउने गरेको उहाँको भनाई छ । घिमिरेले भन्नुभयो “क्रमश पर्यटकको संख्या वढ्दै जान्छ भन्नेमा हामी विश्वस्थ छौ ।” होटल सेभेन स्टारका सञ्चालक माधब दुवाडी भने दशैं अघि होटल खोल्ने मनस्थितिमा हुनुहुन्न । उहाँले भन्नुभयो “ठूलो समुह आएमा व्यवस्थापन गर्ने भए पनि दशैं अघि होटल खोल्ने मनस्थितिमा म छैन ।”खर्च वढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अबस्थामा छन् ।
सौराहामा रहेका रेष्टूरेन्टहरुमा सरसफाई र तयारी थालिएको छ । रेष्टूरेन्ट एण्ड वार एशोसीयसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार यहि असोज ७ गते पछि खोल्नका लागि सबैले तयारी सुरु गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि सु्रु भए संगै पर्यटक वढ्ने उहाँको अनुमान रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वराल सामुदायीक वनहरुमा हात्ती प्रबेश आजबाट खोलिएको बताउनुहुन्छ । सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायीक वनमा पर्यटक हात्तीमा चढाएर घुमाउने गरिन्छ । ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराईन्छ । वरालका अनुसार निकुञ्जमा पैदल यात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै वाटो मर्मत गरेर जिप सफारीको अनुमती दिने उहाँले जानकारी दिनुभयो ।
चैत ११ गतेबाट वन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेबाट पुनः वन्द भएका थिए । सौराहामा १ सय १० होटल रहेका छन् । यसै गरि साना ठूला १ सय हाराहारी रेष्टूरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५ हजार ५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।






