चितवनः चितवन मेडिकल कलेजले आजबाट दुई घण्टामानै कोरोनाको पिसीआर परिक्षणको नतिजा दिन सुरु गरेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन सुरु गरेको हो । जसका लागि रु ३ हजार तिर्नुपर्ने हुन्छ ।
कलेजको प्रयोगशालामा गएको एक महिनामा ५ हजार २ सय ९२ जनाको कोरोना भाईरसको पिसीआर परिक्षण गरेको छ । जस मध्ये ९ सय ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मेडिकल कलेजले गएको भदौ ३ गतेबाट पिसीआर परिक्षण थालेको हो । कलेजका प्रेस संयोजक डा. किशोर अधिकारीका अनुसार सङ्क्रमित मध्ये ५ सय ५६ जना पुरुष र ३ सय ९७ जना महिला रहेका छन् । कुल संख्यालाई हेर्दा परिक्षण गरिएका मध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमण भई अस्पतालमा उपचाररत मध्ये हाल सम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २ सय २१ जना सङ्क्रमितको उपचार गरि सकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । अधिकारीका अनुसार ३ जना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भईरहेको छ । अन्यको अबस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेका मध्ये ४५ जना पुरुष र ५२ जना महिला रहेका छन् ।
कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले रु ४ करोड भन्दा वढि खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिनुभयो । नेपालमानै निजी क्षेत्रबाट कोरोना रोगको परिक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उहाँको भनाई छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने न्यौपाने बताउनुहुन्छ ।
कलेजले हाल रु २ हजार मात्र लिएर पिसीआर परिक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परिक्षण गर्न ढिला भएका नमुनाहरुको परिक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बिमा पिसिआर परिक्षणमा लागु भएमा सहज हुने उहाँको भनाई छ ।
जिल्लामा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमुना परिक्षणको काम भईरहेको छ ।






