चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेका थिएनन् । खसेका पहिराहरु मध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् । सो सडकको जुगेडीदेखि दासढुंगासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो ।

विगत एक सातादेखि निरन्तर परेको वर्षापछि सोमबार बेलुका परेको अविरल वर्षाले पहिरो खसेको खनालको भनाई छ । पानीले गलेको जमिन ठूलो वर्षासँगै लेदोसहितको पहिरो खसेको थियो । सो सडकबाट माथितर्फ पहाडी गाउँतर्फ जाने साना साना सडक अवैज्ञानिक तरिकाले निर्माण गर्दा पनि पहिरोको जोखिम बढेको खनालले बताउनुभयो ।

सडक सफा गर्न आज बिहानदेखि ११ वटा जेसिबी र ५ वटा लोडर प्रयोग गरिएको थियो । ती मध्ये चार वटा सडक कार्यालयका र अन्य निजी उपकरण प्रयोगमा ल्याईएको हो । सडक कार्यालयका सडक सफा गरेर दिउँसो २ः४५ बजे सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ ।

सडक खण्डको चारकिलो, घुमाउने, भालुढुङ्गा, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो खसेका थिए भने अन्य ठाउँमा साना पहिरो खसेका थिए । घुमाउनेमा पहिले खसेको ठाउँमा थप पहिरो खसेको हो । चार किलोमा नयाँ ठाउँमा ठूलो पहिरो खसेको छ । पाँच किलोमा लेदोले सडक भरिएर घरमा समेत क्षति पुगेको थियो । सडकमै रहेका गाडीको टायरसम्म लेदो भरिएको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई.कृष्णराज अधिकारीले धेरै ठाउँमा पहिरो खसेको भए पनि सडकका कर्मचारी र प्रहरीको सहयोगमा छोटो समयमा सडक सफा गर्न सकिएको बताउनुभयो । एकाएक पहिरो खसेपछि रातीदेखि नै सडक अवरुद्ध बनेको थियो ।

सो सडक दुई वर्ष अघि विस्तार सम्पन्न भएको हो । सडकमा पहिरो रोक्नका लागि चार किलो बाहेकका ठाउँमा काम भएको भए पनि नयाँ नयाँ ठाउँमा पहिरो खसेको हो । सडक विस्तार अघिका वर्षहरुमा वर्षात्को समयमा निरन्तर पहिरो खसेपछि निकै समस्या हुने गरेको थियो । सडक विस्तारसँगै पहिरो रोक्ने काम भएपछि भने थोरै ठाउँमा मात्रै पहिरो खसेका थिए ।

यो सडक राजधानी काठमाण्डौं, पोखरा लगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग हो । यहाँ दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !