निषेधाज्ञामा पनि रोकिएन रंगशाला निर्माणको काम

चितवनः भरतपुरमा बन्दै गरेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्माणको काम निषेधाज्ञाको समयमा पनि धमाधम भईरहेको छ । त्यहाँ कार्यरत मजदुरलाई रंगशाला परिषरमानै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिईएको हो ।

गएको चैत ९ गतेबाट रोकिएको काम बैशाख २० गतेबाट थालिएको हो । सो रंगशाला भरतपुर महानगरपालिका संग सहकार्य गरेर धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको छ । हाल रंगशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन् ।

निर्माणाधिन रंगशालाका निमित्त परियोजना व्यवस्थापक ई. मणी दाशका अनुसार रंगशालामा प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ । पिल्लरका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । तर, लकडाउनका कारणले रोकिएको पिल्लरको काम अहिले भइरहेको छ ।

‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । जस मध्ये “ए” प्याराफिटमा १ सय ५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । “ए” प्याराफिटमा १ सय १० वटा पिल्लर रहने छन् । त्यसैगरी “बी” प्याराफिटमा हुने १ सय १० पिल्लर मध्ये १९ वटाको जग हालिएको दाशले जानकारी दिनुभयो ।

एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाईको हुने दाशले बताउनुभयो । दुई प्याराफिटमा १५÷१५ जनाको हजार क्षमता हुने छ । मनसुन रोकिए लगत्तै भूईको काम गर्ने तयारी गरिएको छ । मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको दाशको भनाई छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाई भएको उहाँ बताउनुहुन्छ ।

रंगशाला निर्माणमा साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भई सकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सीनाका अनुसार हाल सम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ । असार मसान्त सम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सि सामान सहयोग प्राप्त भएको थियो । काम भईरहेकाले रु ५ करोड भन्दा वढिको उधारोमा सामाग्री आएको उहाँले जानकारी दिनुभयो ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भईरहेको बताउनुभयो । अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको भन्दै उहाँले यस अघि वोलकवल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकीने बताउनुभयो । यही साउनबाट १८ महिना भित्र सम्पन्न गर्ने गरि रंगशाला निर्माणको काम भईरहेको छ ।
निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजती गति लिन नकसकेको उहाँको भनाई छ । रगंशाला निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हाल सम्म रकम प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो । सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उहाँको विश्वास छ ।

भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाह जग्गा दिलाएर रंगशाला निर्माण सुरु गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिए वापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ ।

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसन संग सहकार्य गरेर भईरहेको रंगशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागि परेको बताउनुभयो । महानगरले यस वर्ष रु ४ करोड बिनियोजन गरेको भन्दै उहाँले बागमती प्रदेशले रु ३ करोड छुट्याएको जानकारी दिनुभयो । महानगरले गत वर्ष रकम बिनियोजन गरेको भए पनि प्राबिधिक कारणले निकासा गर्न कठिन भएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्वपूर्ण परियोजना भएको भन्दै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो । फाउण्डेसनले नेपालमा क्रिकेट रंगशाला वनाउने वताए संगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो ।

वि. सं. २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बिचमा जग्गाको बिषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि वढेको हो ।