स्याङ्जाः बन्दुकसहित प्रहरीले २ जेष्ठ नागरिकलाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले ४ थान वटा बन्दुकसहित पक्राउ गरेको हो ।

अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले ठकुरी र हमालको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई आइतबार हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस !