चितवनः अजंगको शरीरलाई सधैं उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगतमा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुईमा लम्पसार परेर । तर चितवन राष्ट्रिय निकुञ्जको एउटा अजंगको हात्ती सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब भुईमा लड्यो उसले आफ्नै जीवन नै समाप्त ग¥यो ।
निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती विगत आठ वर्षदेखि कहिल्यै भुईमा सुतेन । उसलाई निधाउनु परेमा आफैलाई बाँधेको खबारी (खाँबो) को साहारामा आडा लगाएर निधाउने गथ्र्याे । तर गत २१ गते जब ऊ भुईमा लम्पसार प¥यो, जीवनको अन्त्य पनि त्यही बेला भयो ।
सो हात्तीको नौ वर्ष यता रेखदेख गर्दै आउनु भएकी फनित मिना महत्तो सात÷आठ वर्ष अघि एक दिन बसिरहेको बेला जंगली हात्ती ‘जिरे’ले हाने देखि मृत्यु भएको दिनसम्म हात्ती नबसेको बताउनुहुन्छ । उठ्दाउठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महत्तोले भन्नुभयो “धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त ग¥यो ।” मृत्यु हुनु तीन दिन अघिसम्म हात्ती आहाराका लागि जंगल जाने गरेको उहाँले बताउनुभयो ।
बि.सं. २००२ सालमा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याईएको हो । महत्तो भन्नुहुन्छ “बडामहारानी, राजा रानी चढ्ने हात्ती हो रे यो ।” निकै ज्ञानी भएकाले राज परिवारले मन पराएको भन्ने आफूले सुनेको उहाँले जानकारी दिनुभयो ।
पोथी हात्ती सुन्दरमालाले लामो समय निकुञ्ज सुरक्षामा खटिएको भए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठ कुनै कुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउनुहुन्छ ।
उहाँका अनुसार हात्तीको तौल ४ हजार किलो हाराहारीको हुने गर्दछ । उहाँले भन्नुभयो “शरीर कम्जोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।” आफू बसेको बेला जंगली हात्तीले आक्रमण गरेकाले बस्दा फेरी आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आँकलन गरिएको छ ।
निकुञ्जका विभिन्न ठाउँमा ५८ वटा हात्ती रहेका छन् । विगतमा पर्यटकलाई घुमाउन समेत प्रयोग हुने गरेका हात्तीहरु पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारीसाधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकोले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।
निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा जन्मिएका छावालाई यही तालिम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुवाती दिनमा भने भारत लगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याईएको हो ।
भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्ने गर्दछ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरेर कुची तयार पारेर खुवाईन्छ भने घाँसे मैदान र जंगलमा चराउन पनि लगिन्छ ।