चितवनः क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन सुरु गरेको छ । हाल सम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरि प्लाज्मा वनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती मध्ये दुई यूनिट प्लाज्मा एक बिरामीलाई दिईसकीएको छ । वाँकी दुई तयारी अबस्थामा राखिएको छ । जसमध्ये एउटा “ओ” र अर्को “वी” रक्तसमूहको हो । यस अघि दिईएको दुई यूनिट प्लाज्मा “वी”समूहको थियो । मानिसको शरिरमा “ए”, “वी”, “ओ” र “एवी” समूहको रगत चढाइन्छ ।

पौडेलले चारवटै रक्तसमूहको कम्तिमा पाँच यूनिटका दरले प्लाज्मा तयारी गरि बैंकको रुपमा राख्न लागिएको जानकारी दिनुभयो । यसका लागि केन्द्रले प्रकृया अघि वढाईसकेको छ । चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरि केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । उनीहरुलाई केही समस्या भएमा यही उपचार गर्न सकिने भएकाले केन्द्रमानै रगत सङ्कलन गर्न लागिएको हो ।

सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिन पछि ४५ दिन भित्र रगत सङ्कलन गरि प्लाज्मा वनाउनुपर्ने हुन्छ । जसका लागि लक्ष्यण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाई छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज संगै पुष्पाञ्जली अस्पतालमा गम्भिर अबस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ ।

क्वारेन्टिन संञ्चालन तथा ब्यवस्थापन मापदण्ड र प्लाज्मा थेरापी निर्देशिकामा गरिएको ब्यवस्था एक आपसमा बाझिंदा प्लाज्मा तयार गर्ने रक्त दाताहरुको पहिचान कठिन भएको छ । पौडेल प्लाज्मा थेरापीमा स्पष्ट निती नहुँदा प्लाज्माका लागि रगत सङ्कलनमै समस्या भएको बताउनुहुन्छ ।

क्वारेन्टिन मापदण्डले कोरोना सङ्क्रमितलाई १४ दिन पछि परिक्षण नै नगरी घर पठाउने भनेको भए पनि प्लाज्मा थेरापी निर्देशिकाले सङ्क्रमण मुक्त भएको १४ दिन पछि मात्रै रगत दान गर्नुपर्छ भनि उल्लेख गरेको पौडेलको भनाई छ । यस्तो अवस्थामा परिक्षण नै नगरी घर गएका सङ्क्रमितहरुको रगत सङ्कलन गर्ने आधार नहुँदा समस्या आएको उहाँले जानकारी दिनुभयो । अहिले प्लाज्माका लागि रक्तदाता खोज्दा नेगेटिभ भई डिस्चार्ज भएको मात्र खोज्नुपर्ने भएको छ ।

भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना सङ्क्रमितको पहिचानमा केही समस्या देखिएको बताउनुभयो । अधिकारीले भन्नुभयो “निको भएका कोरोना सङ्क्रमितको रगतवाट प्लाज्मा निकालेर सङ्क्रमितको शरिरमा चढाउने प्रकृया नै प्लाज्मा थेरापी हो । रगतमा हुने प्रोटिन सहितको पहेलो पदार्थ नै प्लाज्मा हो ।” निको भएका सङ्क्रमितको विकास भएको एन्टिवडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाई छ ।

अधिकारीले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको बिकास गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिवेला दिन सहज हुनेगरि व्यवस्थापन गर्न लागिएको छ । केन्द्र र भरतपुर अस्पताल बिच सहकार्य गरेर हरेक समूहको पाँच यूनिट प्लाज्मा जगेडा राख्न लागिएको अधिकारीले बताउनुभयो ।  जिल्लाका अस्पतालहरुमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !