चितवनः झण्डै चार वर्ष पछि तस्करले गैंडा मरेको अनुमान संगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैंडा भेटियो ।

पाँच दिन अघि भदौ १६ गते वन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजी पछि गैंडा शंङ्कास्पद अबस्थामा भेटिएको थियो । निकुञ्जले गैंडाको टाउकोमा २ वटा प्वाल र पछाडीको भागमा धारिलो हतियार प्रयोग गरेको अबस्थामा भेटिएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले भेटिएको गैंडा गलेको अबस्थामा रहेको वताउनु भयो ।

वन्दुकको आवाज आएकै दिन गैंडा मरेको मृत शरिरको प्रकृतिले देखिएको छ । टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् । तर तस्करले खाग र खुरकै लागि गैंडा मार्ने भएपनि ती दुबै सुरक्षित रहेको वरालको भनाई छ । घटना शंङ्कास्पद भए संगै निकुञ्ज थप रणनितिका साथ अनुसन्धानमा अघि वढेको छ । यस अघि बि. सं. २०७३ चैत २६ गते राप्ती वेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायीक वनमा गैंडा तस्करले मारेका थिए । त्यस यता प्राकृतिक कारणबाट मात्र गैंडा मरेको वरालको भनाई छ ।

वराल तस्करले नै गंैडा मारेको हुनसक्ने वताउँनु हुन्छ । उनीहरु तस्कर समूह भएको भन्दै निस्तेज पार्ने रणनितीमा लागेका छन् । वराल छुटेका कैदी बन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्विकार्नु हुन्छ । गएको वैशाख यता मात्र भरतपुर कारागारबाट गंैडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन् । कारागार प्रमुख कमल प्रसाद काफ्लेका अनुसार त्यही मुद्धाका आउँदो चैत सम्ममा ४ जना, २०७८ मा ६ जना, २०७९ मा १० जना र २०८० मा ४ जना छुट्दै छन् । कोही भने कारागार भित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन् । हाल कारागारमा सो अभियोगमा ६८ जना छन् । पाँच वर्ष भित्रमा आधा भन्दा वढि छुट्ने काफ्ले बताउनुहुन्छ ।

यस मुद्धामा अधिकतम सजाय १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै हुने व्यवस्था छ । कारागार रहेकाहरु मध्ये २२ जना चेपाङ मात्र छन् । कारागारमा भएका सबै भन्दा वढि चितवनका ४५ जना, नवलपरासीका १२ जना, मकवानपुरका १० जना र पर्साका १ जना छन् । एक महिला वाहेक अरु सबै पुरुष हुन् । वरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा निकै लागेकाहरु भएको जानकारी दिनुभयो ।

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका एक सय जना भन्दा वढि छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्र संगै पोखरा, काठमाडौं लगाएतका ठाउँका हुन् । अरु मुद्धाको समेत गरेर यो संख्या १ सय ५० भन्दा वढि छ । तिनीहरुको खोजीमा पनि सुरक्षाका सबै तह लागेको उहाँको भनाई छ । यस संगै कोभिड १९ को मौका छोपेर तस्कर सकृय भएको अनुमान छ । निकुञ्जमा शशस्त्र द्धन्द्धको समयमा एकै वर्ष ३८ वटा सम्म गैंडा तस्करले मारेको तथ्याङक छ । त्यतिवेला वि. सं. २०५८ देखि २०६३ सम्म तस्करले १ सय ६ गैंडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सन १९९५ मा चोरि शिकारबाट एउटा गैंडा मारिएको थियो । त्यस यता हाल सम्म तस्करले मारेको प्रमाणीत भएका गैंडाको संख्या १ सय ७६ पुगेको छ ।

पछिल्लो वर्षहरुमा प्राकृतिक कारणले गंैडा मरे पनि तस्करले मार्न पाएका थिएनन् । निकुञ्जका सूचना अधिकारी अशोक कुमार रामका अनुसार आर्थीक वर्ष २०७५÷०७६ मा प्राकृतिक कारणले सबैभन्दा धेरै ४३ गैंडा मरेका थिए । अन्य वर्षमा प्राकृतिक कारणले सरदर २५ गैंडा मर्ने गरेको उहाँको भनाई छ । अहिले निकुञ्जले साइकल, मोटरसाईकल, गाडी, पैदल, हात्ती, डुङ्गा, मोटरवोटबाट गस्ति गर्दै आएको छ । अफ्ठ्यारो ठाउँमा कुकुर र ड्रोन पनि प्रयोगका लागि तयारी गरिएको छ । निकुञ्जमा हाल ४६ सुरक्षा पोष्ट छन् । शंङकास्पद ठाउँमा एम्बुस गस्ति गरिने रामले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निकुञ्जले थप रणनितीका साथ सुरक्षा गस्ती वढाईरहेको छ । मध्यवर्तीका समुह संग सहकार्य गरि युवा चोरी शिकार नियन्त्रण समुहहरु पनि सकृय वनाईदै छ । निकुञ्जमा यसै वर्ष गैंडा गणना गरिदै छ । यस अघि सन २०१५ सालमा गरिएको गणनामा नेपालमा रहेका ६ सय ४५ मध्ये ६ सय ५ गैंडा यसै निकुञ्जमा रहेका थिए । निकुञ्ज सुरक्षामा नेपाली सेनाको वटुकदल गण खटिएको छ ।

वि. संं. २००७ साल तिर यस निकुञ्जमा ८ सय हाराहारी गैंडा रहेकोमा वि. सं. २०२० मा यो संख्या घटेर १ सयमा झरेको थियो । त्यस यता क्रमश गैंडाको संख्या वढ्दै आएको हो । विश्वमानै एक सिंङ्गे गैंडा दुर्लभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस !