चितवनः वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले वीपी जयन्तीको अबसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज बिधिबत रुपमा उद्घाटन गरेको छ । वीपीकै नामबाट स्थापना भएको सो अस्पतालले उहाँको १ सय ७ औं जन्मजयन्तीको अबसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।
सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पुजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनिया मेडिकल टिम लिडर डा. झाङ् वीले प्रयोगशालाको उद्घाटन गर्नुभयो । सो अबसरमा अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. देजकुमार गौतम, संञ्चालक समिति सदस्य डा. विनय ठाकुर लगाएत बिभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
अस्पतालले प्रयोगशाला गएको आईतबारबाट संञ्चालनमा ल्याएको हो । हाल सम्म ३ सय ९२ जनाको कोरोना परिक्षण गरिएको गौतमले जानकारी दिनुभयो । अस्पतालले पिसीआर परिक्षण शुल्क रु ३ हजार ५ सय तय गरेको छ । एक दिनमा ४ सय वटा सम्म नमुनाको परिक्षण गर्न सकिने उहाँकोे भनाई छ ।
सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परिक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आए संगै उपचारमा सहज भएको गौतमको भनाई छ ।
समयमा पिसीआर परिक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी वढ्दै गए पछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सो वाहेक जिल्लामा सरकारी तर्फ भरतपुर अस्पतालले र निजी तर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।
सरकारी प्रयोगशालामा नमुनाको चाप उच्च भएकाले नतिजा आउन एक साता सम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।
चिनिया चिकित्सक टोलीलाई स्वागत
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले १३ औं चिनिया चिकित्सक टोलीलाई आज स्वागत गरेको छ । सो अस्पतालमा चीन सरकारले नियमित रुपमा १५ जना बिशेषज्ञ चिकित्सक सहित १७ जनाको टोली पठाउँदै आएको छ । बिगत ३ वर्ष यता हरेक वर्ष नयाँ टोली आउने र पुरानो टोली जाने गरेको छ । वीको नेतृत्वको टोलीलाई अस्पतालले स्वागत गरेको हो ।
यस अघिको डा. लुलीको नेतृत्वमा रहेको टोलीलाई आजै बिदाइ गरिएको छ । डा. वी मुत्ररोग बिशेषज्ञ हुनुहुन्छ । उहाँ संगै नाक,कान, घाँटी, रक्त क्यान्सर, स्तन क्यान्सर, पेट रोग बिशेषज्ञ, प्याथोलोजी, अकुपंञ्चर, रेडियो थेपापी, एनेस्थेसिया, थोरापित र दन्त चिकित्साका १५ जना बिशेषज्ञ रहेका छन् । एक जना दोभासे र एक जना भान्से रहेको गौतमले जानकारी दिनु्भयो । उहाँहरुलाई अस्पतालका अध्यक्ष लामिछाने, कार्यकारी निर्देशक गौतम, संञ्चालक समिति सदस्य ठाकुर सहित विभागीय प्रमुखहरुले स्वागत गर्नु भएको थियो । सन १९९८ बाट संञ्चालनमा आएको यस अस्पताल चीन सरकारले निर्माण गरिदिएको हो । अस्पताल सञ्चालन भए देखिनै चिनिया चिकित्सक टोलिले अस्पतालमा सेवा दिदै आएको छ । उनीहरुको आबासिय बाहेकको सबै खर्च चीन सरकारलेनै वेहोर्दै आएको छ ।






