चितवनः कोरोना भाईरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेरिएको र छिछि–दुरदुर गरिएको विषय समाचार र सामाजिक सञ्जालमा व्यापक आलोचना भए पनि समाजमा सुधार आउन सकेको छैन । कोरोना भाईरसको सङ्क्रमण समुदायसम्म पुगेको भए पनि सङ्क्रमित र उनीहरुको परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको हो ।
शिक्षीत र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजबाट नै सङ्क्रमितका परिवार पीडित बन्नु पर्ने अवस्था छ । चितवन शिक्षा र स्वास्थ्यका दृष्टिकोषणले निकै अगाडि रहेको जिल्ला हो । यही जिल्लाको मुख्य मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएको समाजबाट नै सङ्क्रमितका परिवारहरु पीडित बन्नु परेको छ ।
पत्रकार वसन्त ढुंगानाका दाजुलाई सङ्क्रमण देखिएपछि उहाँ २४ दिनसम्म दाजुसँगै घरमै बस्नुभयो । उहाँहरुको घर भरतपुर महानगरपालिका वडा नं.८ लालिगुराँस चोकमा छ । उहाँहरुको यो २४ दिनको समय पूरै तनावमा बित्यो । दाजुलाई सङ्क्रमण भयो, भाउजु छोराछोरी र उहाँलाई सङ्क्रमण भएन ।
दाजुको संक्रमणको अवधिभर परिवार पूरै मानसिक तनावमा रहनु प¥यो । उहाँले दुखेसो गर्नुभयो “दाजुलाई लक्षण नदेखिएकाले रोगका कारणले नभएर समाजका कारणले हामीलाई तनाव सिर्जना भयो ।” उहाँका अनुसार घरमा बाहिरबाट तयारी खाना कसैले ल्याईदिंदै गर्दा स्थानीयले प्रहरीलाई खबर गथ्य । केही छिनमा प्रहरी आईपुग्थे । उहाँले भन्नुभयो “मानौं कि हाम्रो घर कुनै अपराधीको घर जस्तो भयो ।” उहाँले अगाडि थप्नुभयो “ कहिले काहित यस्तो ठाउँमा किन घर बनाईएछ भने जस्तो भयो ।”
स्थानीयले जानेर नभएर नबुझेर त्यसो गरेको भन्ने सोचेर आफूहरुले चित्त बुझाउने गरेको उहाँले बताउनुभयो । गएको साउन २६ गते संक्रमण देखिएपछि दाजुलाई सङ्क्रमणमुक्त हुन लामो समय लागेको ढुंगानाले जानकारी दिनुभयो ।
जिल्ला अदालत चितवन बार एसोसिएसनका अध्यक्ष कमल पाठकको १०९ वर्षिय मावली हजुरआमाको कोरोना संङ्क्रमणका कारण मृत्यु भयो । उहाँको स्याहारमा जुटेका पाँच जना सानीआमा, एक जना नातिनी र एक जना नातिनी ज्वाइँमा पनि सङ्क्रमण देखियो । पाठकको एकजना सानीआमा अहिले पनि भरतपुर अस्पतालका सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।
खैरहनी नगरपालिका वडा नं. ३ का स्थायी वासिन्दा पाठकको भनाई अनुसार त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टाइनमा बस्नुप¥यो । परिवारको पीडालाई भनेर व्याख्या गर्न नसकिने उहाँको अनुभव छ । पाठकले भन्नुभयो “क्वारेन्टिनको अवधि पार गरेर पीसिआर नेटेटिभ आउँदा पनि अहिले पनि समाजमा घुलमिल हुन नदिएको उहाँको गुनासो छ । उहाँले गुनासो गर्नुभयो “म नजिक गएँ भने कतिपय बसिरहेको मानिस उठेर हिँड्छन् ।”
सानीआमा अस्पतालको छट्पटाई आफैमा पीडादायी भएको उहाँ बताउनुहुन्छ । सघन उपचार कक्ष बाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उहाँको गुनासो छ । अक्सिजन फाल्ने, शैयाबाट भुईमा झर्ने जस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उहाँले बताउनुभयो ।
सङ्क्रमित मध्येकै अन्य बिरामीले सक्नेले नसक्नेलाई सेवा गरिरहेको उहाँले बताउनुहुन्छ । पाठकले भन्नुभयो “आफन्त गुमाउँदाको पीडा, बिरामीको पीडा त छँदैछ, समाजले दिने पीडा झन् ठूलो बनेको छ ।” उहाँले सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गर्दै उहाँहरुलाई दुःखमा सहानुभूति दिन आउनेहरुलाई समेत समाजले छिछि दुरदुर गर्ने गरेको देख्दा झनै नरमाईलो लाग्ने गरेको पिडा पोख्नुभयो ।
भरतपुर महानगरपालिका वडा नं. २ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । सँगै बस्नु भएका ७४ वर्षिय हजुर बुबा संक्रमित हुनुहुन्छ । उहाँले गुनासो गर्नुभयो “हामीले यतिबेला एक्लो महसुस गरेका छौं ।” कतिपय साथीभाईले टेलिफोन गर्दा समेत कोरोना सर्ला जस्तो गरेको उहाँको भनाई छ ।
सीमित सम्पर्कमा आएकाहरुबाट रासन पानी मगाएर गुजारा चलाउने गरेको रामदामको दुखेसो छ । उहाँले भन्नुभयो “दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर निराश भईयो ।”
नेपाल पत्रकार महासंघ चितवनका सदस्य समेत रहनु भएका रामदामले समाजलाई बुझाउन नसक्दाका कारण समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “समाजले अझै पनि रोग कसरी सर्छ भन्ने राम्रोसँग बुझेको छैन ।”
कोरोनालाई जितेर काम थाल्नुभएका भरतपुर अस्पतालका प्रसुती रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल सङ्क्रमण देखिंदै गर्दा परिवारलाई निकै पीडा भएको आफूले भोगेको बताउनुहुन्छ । रोगका बारेमा बुझिनसकेकै कारण समाजमा धेरै त्रास रहेको उहाँको भनाई छ । शुरुका दिनहरुमा एचआईभी÷एड्स सङ्क्रमितलाई जुन ढंगले हे¥यो, अहिले त्यही ढंगबाट कोरोना संक्रमितलाई हेर्ने गरेको उहाँको बुझाई छ ।
मनोबललाई उच्च राख्न सकेमा रोगलाई परास्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो “समाजलाई बुझाउन सकेमा समाजबाट हुने पीडा कम गर्न सकिन्छ ।”
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीको सङ्क्रमणपछि उहाँसँगै काम गरेका अस्पतालका चिकित्सक तथा कर्मचारी, बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधि, उच्च पदस्थ व्यक्तिहरु, परिवारमा समेत सङ्क्रमणको आशंका भयो । परिवारसँग छुट्टिएर काठमाण्डौंबाट चितवन आएसँगै उहाँमा संक्रमण देखिएको थियो । उहाँकी श्रीमती शीला तिवारी शुरुका दिनमा निकै पीडा महसुस भएको बताउनुहुन्छ । तिवारीमा लक्षण समेत देखिएकाले केही भईहाल्छ कि भन्ने आफूमा चिन्ता भएको उहाँको अनुभव छ ।
विश्वभरको तथ्यांकलाई हेर्दा ४० देखि ६० वर्षका बढी प्रभावित भएको, विश्वभरका मानिस डराएका, ठाउँठाउँमा लकडाउन र निषेधाज्ञा गरिएको, सामाजिक सञ्जाल र समाचारहरुमा कोरोनाकै बारेमा आईरहँदा र आफ्नै घरको मुख्य मानिसलाई सङ्क्रमण देखिंदा पीडा महसुस भएको उहाँको अनुभव सुनाउनुभयो ।
आफू पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएको र क्रमशः उहाँका लक्षणहरु हराउँदै जाँदा पीडा पनि कम हुँदै गएको उहाँले बताउनुभयो । डा। तिवारीका श्रीमती र छोराछोरी काठमाण्डौं हुनुहुन्छ भने बुबा आमा चितवनकै घरमा हुनुहुन्छ । तर परिवारका कसैलाई पनि सर्न पाएन । उहाँले भन्नुभयो “सङ्क्रमण भएकाले आत्मबल बलियो बनाउने र समाज र परिवारले प्रोत्साहन दिन सकेमा कोरोनालाई परास्त गर्न सहयोग पुग्छ ।”
कोरोना सङ्क्रमित भएर आईसोलेशनन रहनु भएका पत्रकार रमेश बस्ताकोटीकी श्रीमती सिर्जना कण्डेलले कोरोना संक्रमित र उनीहरुका परिबारलाई हेर्ने दृष्टिकोण परिबर्तन हुन नसक्दा यसले सङ्क्रमितहरुको मनोबल झन् घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा अझै चेतनाको स्तर विकास हुन सकेको छैन, कोरोना सङ्क्रमितको परिवारलाई हेय भावले हेर्ने र उनीहरुलाई समाजमा बहिष्कार नै गर्ने प्रवृत्ति देखिएको छ । यो सबै भन्दा खतरानक बिषय हो ।”
आफ्नो श्रीमान् कर्तव्यपालना र कामकै सिलसिलामा सङ्क्रमित भएको भन्दै उहाँले समाजले गर्ने व्यवहारबाट जो कोहि संक्रमितका परिवार हतोत्साहित भएको बताउनु भयो । “सङ्क्रमितको परिवारसँग बोल्दैमा, उनीहरुको घरको बाटो हिड्दैमा कोरोना सर्छकी भन्ने मनोबिज्ञानबाट मानिसहरु ग्रसित छ्न् ।” मानिसहरुको यस्ता त्रास हटाउयन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले श्रीमान् संक्रमित भएपछि आफू र छोरी पनि ७ दिनसम्म घर भित्रै बसेको स्मरण गर्दै समाजका प्रबुद्ध ब्यक्तिहरु समेत यस बिषयमा जानकार नभएजस्तो व्यबहार गर्दा आफू अचम्मित भएको गुनासो गर्नुभयो । कण्डेलले समाजले सङ्क्रमित र उनीहरुका परिवारलाई हौसला मात्र दिने हो भने पनि आधा रोग त्यसै निको हुने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “एक आपसमा सद्भाव कायम गर्नुपर्छ , एकले अर्कोलाई सहयोग गर्नुपर्छ अनि मात्र कोरोनासँगको लडाई जितिन्छ ।”
भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरका वसन्त पराजुलीको अनुभव भने फरक छ । उहाँले समाजबाट सकारात्मक सहयोग पाएको प्रतिक्रिया दिनुभयो । उहाँको घरको भूई तलामा भाडामा रहेका तीन जनामा सङ्क्रमण देखिएपछि पराजुली परिवार पनि घरमै सुरक्षित बसिरहेको छ । पिसिआर रिपोर्ट नआउँदासम्म आवश्यक सामाग्री छरछिमेकीले घरको गेटसम्म ल्याईदिएर सहयोग पु¥याएको उहाँको अनुभव छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने तर तर्सित हुन नपर्ने बताउनुहुन्छ । तिवारीका अनुसार संङ्क्रमितले ह्याच्यू गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गरेर मास्क लगाएर, समय समयमा साबुपानीले हात धोएमा रोग सर्नबाट बच्न सकिन्छ ।
सामान्य लक्षण र लक्षण नभएका घरमै सुरक्षित तरिकाले राख्न सकिने भएकाले टोल, समुदाय आत्तिनु नपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “सङ्क्रमितलाई प्रोत्साहन दिऔं, हतोत्साहित नबनाऔं ।” टाढाबाट र हावाबाट रोग नसर्ने भएकाले त्रसित हुन नपर्ने उहाँले जानकारी दिनुभयो । घरमै रहेका सङ्क्रमितलाई समय समयमा ध्यान दिने, कपडा र प्रयोग भएका वस्तुहरु सर्फ पानी, क्लोरिनले सफा गर्ने गरेमा रोग अरुलाई सर्नबाट बचाउन सकिने उहाँको भनाई छ ।
घरमा बसेका सङ्क्रमित छिटो निको हुने गरेको तथ्याङ्क पनि उहाँमा छ । उहाँले भन्नुभयो “सङ्क्रमिलाई अपमानित र छिछिदुरदुर गर्नु हुँदैन ।” सङ्क्रमितको मृत शरीरबाट अरुमा संक्रमण सर्ने सम्भावना ज्यादै न्यून हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मरेका शव र तिनका परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन ।” मृत शरीरको शव व्यवस्थापन गर्न परिवारले चाहेमा उच्च सावधानी अपनाएर गर्न सकिने उहाँको राय छ ।
उहाँले थप्नुभयो “अहिले ठाउँठाउँमा क्रिया बसेकाहरुलाई फरक व्यववहार गरेको सुनिएको छ, त्यो राम्रो होइन ।” मलामी गएकाहरुमा शवबाट नभएर मलामी मलामीबीचको सम्पर्कबाट रोग सर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मलामी मध्ये एउटा सङ्क्रमित हुँदा अरुलाई सर्ने गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ ।”
कोरोना सङ्क्रमित र सङ्क्रमितको परिवारलाई सुरक्षा सावधानी अपनाउँदै आवश्यक सहयोग र प्रोत्साहन गर्नेतर्फ सबै लाग्न आवश्यक छ ।