चितवनः नेपाल प्रेस युनियन चितवनले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अभिव्यक्ति प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले अहिलेको समयमा कृषकले मल नपाएको र मलको कालोवजारी भईरहेको विषयमा समाचार लेख्ने पत्रकारलाई प्रमुख जिल्ला अधिकारीले धम्काएको भन्दै सो घटना प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
युनियनका अध्यक्ष अनिल ढकालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ “पूर्वी चितवनको रत्ननगरमा रहेको निर्मल वहुउद्देश्यिय सहकारीले अनुदानको मल महंगोमा बिक्रि गरेको विषयमा बुझ्न खोज्दा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले न्यूज २४ को जिल्ला संवाददाता केदार शर्मामाथि धम्काएको घटना प्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । सोही विषयमा जानकारी लिन खोज्दा प्रेस संगठनका केन्द्रिय सदस्य एबं कालिका दैनिक अनलाईनका सम्पादक शिशिर सम्खडालाई पनि दोशिकै तर्फबाट व्यवहार गरिएको घटनाको हामी निन्दा गर्दछौ ।”
सो सहकारीको नेतृत्व गरिरहेका र यस अघि पनि मल कालोवजारी गरेको अभियोगमा मुद्दा खेपेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको पक्षमा लिएर प्रमुख जिल्ला अधिकारीले समाचार लेख्ने पत्रकारलाई धम्काउने कार्य निन्दनीय भएको युनियनले ठहर गरेको छ । ढकाल द्धारा जारी बिज्ञप्तिमा भनिएको छ “जिल्लामा मलको कालोवजारी नियन्त्रण गर्न नसकेको स्थानीय प्रशासन पत्रकारमाथि खनिनुलाई आम जिल्लाबासिले शंकाको रुपमा हेरेका छन् । यस विषयमा सत्य तथ्य पत्ता लगाई सम्बन्धित दोशीलाई कारवाही गर्न सरकार संग जोडदार माग गर्दछौ ।”
बिज्ञप्तिमा भनिएको छ “किसानले मल नपाएर हाहाकार भएको समयमा भएको कालोबजारी गरेको कुरा बाहिर आएपछि त्यस विषयमा समाचार लेख्न खोज्ने पत्रकार माथि प्रशासनले गरेको व्यवहार आपत्तिजनक रहेको हाम्रो ठम्याई छ ।” बिज्ञप्तिमा भनिएको छ “तपाईहरु माथि आरोप छ, भनी घटनालाई वेवास्ता गरी पत्रकारमाथि खनिनु दुःखद् विषय हो ।”
युनियनले पटक पटक कालोवजारीको आरोप लाथ्दै आएका रेग्मी माथि छानविन गर्नु र समाचार लेख्ने पत्रकारलाई धम्काउने कार्य निन्दनीय रहेको जनाएको छ । यसले प्रशासन माथि प्रश्न उठेको ढकालले वताउनुभयो । बिज्ञप्तिमा दोषीलाई कारबाहीको सट्टा उन्मुक्ति दिने आशयले पत्रकार प्रतिनै आक्रोशित हुँदै दिएको प्रतिक्रियाले स्वतन्त्र पत्रकारिताको अबमुल्यन भएको बुझाई युनियनले गरेको छ ।
नागरिकको सूचना पाउने अधिकारका लागि निर्वाध रुपमा लाग्न पत्रकारहरुलाई युनियनले आग्रह गरेको छ । साथै स्वतन्त्र पत्रकारिताको लागि पत्रकारको सुरक्षा सहित सहज वातावरण बनाउन प्रशासनसँग माग समेत गरेको छ ।







